महिलामाथि छुरा प्रहारः थप उपचारको लागि काठमाण्डौ रिफर,छुरा प्रहार गर्ने फरार

हेटौंडा / बागमती प्रदेशको राजधानी हेटौंडामा एक महिलामाथि छुरा प्रहार भएको छ । घटना गएको शुक्रबार राति ७ बजे हेटौंडा-७ हरियाली टोलको हो ।
स्थानीय २४ वर्षीया अनिशा राईलाई आफ्नै घर नजिकै छुरा प्रहार भएको र हेटौंडाको चुरेहील अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारको लागि काठमाण्ठौ स्थित ट्रमा सेन्टरमा पठाईएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए । उनले छुरा प्रहार गर्नेमा हेटौंडा-२ घर भएका २९ वर्षीय सिर्जन यादब रहेको बताए । उनले यादब अझै फरार रहेको बताउँदै उनको खोजि कार्य तिब्र भईरहेको बताए ।
मकवानपुर बहुमुखी क्याम्पसमा स्नातकोत्तर (एमएड) तेस्रो सेमेस्टरमा अध्ययनरत राई मानव अधिकार संरक्षण तथा मानव बेचबिखन विरुद्धको सञ्जाल सदस्य, सानाहातहरु नेपालका सदस्य, सुरक्षित वैदेशिक रोजगार परामर्श दाताको रुपमा कार्यरत रहेकी छन् ।
‘यादबले राईमाथि किन छुरा प्रहार गरे भन्ने अझै खुल्न सकेको छैन् । उनिहरुबीच पहिले देखि चिनजान रहेको भन्ने जानकारी आएको छ प्रवक्ता रिमालले भने, घटना भएको दिनदेखि यादब फरार रहेका छन् । यादबको घर पहिचान भइसकेको छ । उनि घर आएका छैनन् । खोजि कार्य तिब्र पारेका छौ । यादब पक्राउ परेपछि घटनाको बारेमा थप खुल्नेछ ।’
यसैबीच,मानव अधिकार संरक्षण तथा मानव बेचबिखन विरुद्धको संजाल मकवानपुरका अध्यक्ष आरती पाठकले यादबले हत्या गर्ने मनसायले शरीरको विभिन्न भागमा छुरा प्रहार गरि फरार रहेको भन्दै खोजतलास गरि हदैसम्मको कारबाहीको माग गरेकी छन् ।
आईतबार सामाजिक संजालमा लेख्दै उनले अपराधिक मानसिकता कहिलेसम्म,कता जाँदै छ समाज भन्दै प्रश्न समेत गरेकी छन् । उनले राई आफ्नो कार्यलयको जिम्मेवारी पुरा गरि घर फर्किने क्रममा छुरा प्रहार भएको भन्दै दोषीलाई कारबाहीको माग गरेकी छन् ।
महिला माथि छुरा प्रहार भएको र गम्भिर घाईते भएको घटना सार्वजनिक भएसंगै सामाजिक संजालमा घटनाको चौतर्फी विराध र दोषीलाई पक्राउ गरेर कडा कारबाहीको माग गरिएको छ ।
खबर ब्रेक बाट