पार्टी कार्यालय कब्जा गर्ने ढुंगानाकाे चेतावनी

पालिका डायरी
१२ चैत्र २०७८, १३:०१
ढुंगाना

स्थानीय तहको निर्वाचन नजिकिएसँगै मकवानपुर जिल्लाको राजनीतिमा तहल्का नै मच्चिन थालेको छ । एकले अर्काको विरोध, आरोप प्रत्यारोप, वडा कार्यालयमा शक्ति प्रदर्शन, पार्टी प्रवेश गराउने लगाएतका गतिविधिहरु मौलाइरहेका छन् । हरेक दिन नयाँ नयाँ राजनितिक घटनाक्रमहरु बढ्न थालेका छन् ।

कमल थापा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलगिएर बनेको पार्टी राप्रपा नेपाल मकवानपुरले आफुले पहिले भोगचलन गर्दै आएको राप्रपाको कार्यालय कब्जा गर्ने चेतावनी दिन थालेका छन् । बुधबार राप्रपा नेपालका मकवानपुर अध्यक्ष अर्जुन ढुंगानाले राप्रपाको जिल्ला कार्यालय कब्जा गर्ने चेतावनी दिएका हुन्् । भर्खरै मात्र राप्रपा नेपाल मकवानपुरका अध्यक्ष चयन भएका ढुंगानाले जिल्लामा राप्रपा नेपालको अस्तित्व देखाउनको लागि राप्रपा पार्टी कार्यालय कब्जा गर्नुपर्ने अवस्था आएको बताएका छन् ।

राप्रपा मकवानपुरका जिल्ला अध्यक्ष मधु अधिकारीले कमल थापा र राप्रपा नेपालको अस्तित्व विलिन भएको बताउँदै राप्रपा नेपाललाई हेप्न खोजेको राप्रपा नेपालका जिल्ला अध्यक्ष ढुंगानाको आरोप छ । ‘हामीले नै बनाएको भवनमा बसेर हाम्रै कुरा काट्दै हिड्नु लज्जास्पद् बिषय हो ।’ ढुंगानाले भने ः पहिला त्यही पार्टीबाट आएर अहिले त्यसकै विरोध गर्नु राम्रो होइन ।
पर्टी कार्यालय निर्माणमा आफुहरुको लगानी गरेको भन्दै उनले सोही कार्यालयमा बसेर राप्रपा नेपाल विरुद्धका गतिविधी हुने गरेको बताए । ‘हामीले बनाएको भवनबाट हाम्रै विरुद्धका गतिविधी भइरहेको छ त्यो हामीलाई सहन हुदैन’ उनले भने । मकवानपुरमा राप्रपा नेपाल र कमल थापाको विचारप्रती आकर्षण बढेको पनि उनको दाबी छ । जिल्लामा केहि व्यक्तिबाट राप्रपा नेपाल र कमल थापाप्रति भ्रम छर्ने कार्य भएको भन्दै उनले त्यस्ता भ्रामक समाचारको पछि नलाग्न आग्रह गरे ।

कमल थापाको नयाँ पार्टी राप्रपा नेपालबाट मकवानपुर जिल्लाको स्थानीय तहको निर्वाचनमा उम्मेदवारी रहन्छ कि रहँदैन भन्ने हाम्रो प्रश्नमा जिल्ला अध्यक्ष ढुंगानाले निर्वाचनमा आफ्ना पार्टीका उम्मेदवारहरुलाई शसक्त ढंगबाट उठाउने योजना रहेको बताए । ‘जित हारको सबाल भएन । तर स्थानीय तहको चुनावमा सबै स्थानीयतहमा शसक्त तरिकाले उम्मेदवारी दर्ता गराइन्छ ।’ कमल थापाको गृहजिल्ला भएकै कारण पनि जनताको साथ पाइन्छ भन्ने निश्चित छ, उनले भने ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भएर थापाले राप्रपा नेपाल ब्युँताएपछि मकवानपुरमा कार्यकर्ता भने अन्योलमा छन् । पछिल्लो महाधिवेशनबाट पार्टी अध्यक्षमा पराजित भएपछि कमल थापाले गृहजिल्ला मकवानपुरमै आएर राप्रपाबाट आफू अलग भएको घोषणा गरेका थिए ।

प्रतिक्रिया