सुपिङ्का जेष्ठ नागरिकलाई सुरक्षास्वर महादेव खैजडी भजन समूहको सम्मान

पालिका डायरी
४ चैत्र २०७८, २०:४०
सुपिङ्का जेष्ठ नागरिकलाई सुरक्षास्वर महादेव खैजडी भजन समूहको सम्मान

हेटाैंडा /   भीमफेदी गाउँपालिका वडा नम्वर– ५ सुपिङ्का ७२ जना जेष्ठ नागरिकहरुलाई शुक्रबार सम्मान गरिएको छ ।

सुरक्षास्वर महादेव खैजडी भजन समूहले देउसी भैलो खेलेर संकलन गरेको रकमबाट आज वडाका ७२ जना जेष्ठ नागरिकहरुलाई एक कार्यक्रमको आयोजना गरी भोजन गराउनुको साथै दोसल्ला ओढाएर सम्मान गरेको हो । सोही कार्यक्रममा भजन समूहका २१ जनालाई पनि सम्मान गरिएको छ ।

कार्यक्रमकी प्रमुख अतिथि एवम् जिल्ला समन्वय समिति मकवानपुरकी उप–प्रमुख भगवती पुडासैनीले जेष्ठ नागरिकको सम्मान पहिलो कर्तव्य भएको बताइन् । जेष्ठ नागरिकको सीप, ज्ञान र अनुभवलाई नयाँ पुस्ताले सिकाइको रुपमा लिनुपर्ने उनले बताइन् । उनले बढ्दो बैज्ञानिकीकरणले आफ्नै सन्तानबाट जेष्ठ नागरिकहरु पीडित हुने गरेको यथार्थ राख्दै बृद्धबृद्धाको सम्मानले मात्र धर्म परम्परा जीवित रहने विश्वास व्यक्त गरिन् ।

त्यस्तै भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले पछिल्लो समय छोरा बुहारीबाटै बृद्ध बाबुआमाहरु अपहेलित हुँदै आइरहेको अवस्थामा वृद्धबृद्धाहरुको सम्मानका लागि यस्ता कार्यक्रमहरुको आयोजना गरिएकोमा खुसी व्यक्त गरे । उनले जेष्ठ नागरिकको सम्मान कार्यक्रमलाई निरन्तरता दिन सुझाव दिँदै यस्ता कार्यको लागि गाउँपालिकाले पनि आवश्यक सहयोग उपलब्ध गराउन तयार रहेको बताए । आफुले अग्रजको सम्मान गर्न सकेमात्रै आफुलाई पनि सम्मान मिल्ने उनले बताए ।

सोही अवसरमा भीमफेदी ५ दमारस्थित बाराही आधारभूत निम्न माध्यमिक विद्यालयको लागि सहयोग रकम प्राप्त भएको छ । नेपाली कांग्रेस् काठमाडौँ कागेश्वरी मनहरा नगर समितिका पूर्व सभापति एवम् समाजसेवी नवराज पुडासैनी र समाजसेवी सुदर्शन पुडासैनीले विद्यालयको लागि एकमुष्ट रुपमा १ लाख ५० हजार रुपैयाँ नगद सहयोग उपलब्ध गराएका हुन् । उक्त सहयोग रकमबाट निम्न आर्थिक अवस्था भएका बालबालिकाहरुले शिक्षा हासिल गर्न सक्ने भन्दै विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष तिलक रेग्मीले सहयोगी दाताप्रति आभार व्यक्त गरे ।
खैजडी भजन समूहका प्रमुख प्रल्हाद पुडासैनीको नेतृत्वमा समूहले करिब आधा घण्टासम्म खैजडी भजन प्रस्तुत गरेको थियो । सुरक्षास्वर महादेव खैजडी भजन समूहका अध्यक्ष जनकराज पुडासैनीको सभाध्यक्षतामा भएको कार्यक्रममा भीमफेदी ५ का वडाअध्यक्ष जहारसिंह लामा, स्थानीय विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधि, संचारकर्मीलगायत स्थानीयहरुको बाक्लो संख्यामा उपस्थिति रहेको थियो ।समूहको नयाँ कार्यसमिति सर्वसम्मत आजै समूहको नयाँ कार्यसमितिसमेत सर्वसम्मत रुपमा चयन गरिएको छ । समूहको अध्यक्षमा बालचन्द्र दुलाल चयन भएका छन् भने उपाध्यक्षमा रामकृष्ण पुडासैनी, सचिवमा घननाथ पुडासैनी, कोषाध्यक्षमा चुडामणी पुडासैनी सर्वसम्मत चुनिएका हुन् । त्यस्तै सदस्यहरुमा छविलाल पुडासैनी, दामोदर पुडासैनी, कुलप्रसाद पुडासैनी, रामहरि महत, र भक्त बहादुर महत चयन भएका छन् । समूहको सल्लाहकारमा जनकराम पुडासैनी, गंगा प्रसाद पुडासैनी र ऋषिराम पुडासैनी चयन भएका हुन् ।

प्रतिक्रिया