हामीलाई आत्मसमर्पण भन्दा मृत्यु स्वीकार्य छ: प्रचण्ड

पालिका डायरी
४ चैत्र २०७८, ११:३०
हामीलाई आत्मसमर्पणभन्दा मृत्यु स्वीकार्य छ: प्रचण्ड file photo

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादीलाई सिध्याउन ‘जनयुद्धकाल’देखि नै खोजिएको भए पनि प्रतिरोध गरेर अघि बढेकोले अहिले पनि प्रतिक्रियावादीको षडयन्त्र परास्त गर्ने बताएका छन्।

लुम्बिनी प्रदेशको पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अहिले देशी तथा विदेशी प्रतिक्रियावादीहरूको मुख्य निशाना माओवादी भएको बताए।

विगतमा संसद विघटनदेखि नेकपा विभाजनसम्मका घटनाहरू माओवादीलाई नै कमजोर बनाउने षडयन्त्रको उपज भएको उनको जिकिर थियो।

‘जनयुद्धलाई समाप्त गर्न थुप्रै अपरेशनहरू भए रोमियो, किलो सेरा टु, हत्या, दमन र बलात्कारका विभिषिका रचियो। घेरा हाल्ने र सखाप पार्ने रणनीति तत्कालीन राज्यले र राजतन्त्रले यो अभियान चलायो,’प्रचण्डले भने, ‘तर हामी क्रान्तिकारी विचार र नेतृत्वमुनि लामबद्ध भएर अनुशासनबद्ध रूपमा अघि बढ्यौं र हरेक षडयन्त्र परास्त गर्न सफल बन्यौं।’

प्रतिक्रियावादीहरूले विगतमा घेरा हालेर सखाप पार्न खोजे पनि प्रतिरोध गरिएको बताउँदै उनले भने, ‘हामीलाई प्रतिक्रियावादीको रणनीति घेरा हाल्ने र सखाप पार्ने थियो भने हाम्रो घेरा तोड्ने र प्रतिरोध गर्ने रहेको थियो। हामी विगतमा आत्मसमर्पणको अवस्थामा हिजो पनि थिएनौं र आज पनि छनौं। आत्मसमर्पणभन्दा मृत्यु हामीलाई स्वीकार्य छ।’

आगामी निर्वाचनमा समेत ‘जनयुद्ध’को बेला जस्तै योजनाबद्ध तयारीका साथ लडाइँमा उत्रिनुपर्ने उनको भनाइ थियो।

अबको निर्वाचन पनि प्रतिगमन र अग्रगमनकारीबीचको लडाइँ भएकोले हतियारविहीन रूपमा जनताको घरदैलोसम्म पुगेर निर्वाचन जित्नुपर्नेमा उनले जोड दिए।

‘निर्वाचनमा एक भएर जाँदा राम्रो परिणाम ल्याउन सकिन्छ। हामी अराकता र गुुटबन्दीविरूद्ध संघर्ष गरेर जानु पर्दछ’, प्रचण्डले पार्टीभित्रको अन्तरविरोधलाई पद्धति अनुरूप हल गर्नुपर्नेमा समेत जोड दिँदै भने, ‘हामी आपसमा गुटबन्दी गर्ने, तानातान गर्ने अरूलाई हिलो छ्याप्ने दोष अरूलाई जस आफूलाई गर्ने प्रवृति पुँजीवादी प्रवृत्ति हो। समाजवादी प्रवृत्ति होइन।’

नेपालको राजनीतिक आन्दोलनमा प्रतिक्रियावाद र यथास्थितिवादविरूद्ध नै मुख्य संघर्ष चल्दै आएको बताउँदै उनले ०५२ सालपश्चात् यो संघर्ष सिधा र आमनेसामने भएर आएको स्मरण गरे।

प्रतिक्रिया