स्वास्थ्य मन्त्रीको आग्रह-‘मृत्युपश्चातको अंगदान गरौं’

पालिका डायरी
२६ फाल्गुन २०७८, १२:५१
स्वास्थ्य मन्त्रीको आग्रह-‘मृत्युपश्चातको अंगदान गरौं’

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले मृत्युपश्चातको अंगदान गर्न आग्रह गर्नुभएको छ ।

विश्व मृगौला दिवसको अवसरमा विभिन्न संघसंस्थाले संयुक्त रुपमा आयोजना गरेको प्रभातफेरी लगायतका कार्यक्रममा बोल्दै मन्त्री खतिवडाले मृत्युपश्चातको अंगदान गर्न सबैलाई आग्रह गर्नुभएको हो ।

मृत्युपश्चातको अंगदान गरेमा मृगौला पीडितहरुले पनि धेरै सुविधा पाउने उहाँले बताउनुभयो । मन्त्री खतिवडाले पहिले मृगौला दान गर्न पाउने समुह साँघुरो भएको उल्लेख गर्दै हाल सरकारले सो समुहलाई ठूलो बनाएको बताउनुभयो ।

नाता पर्नेजति सबैले मृगौला दान गर्न सक्ने उहाँले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘मृगौला पीडितले आफुलाई मृगौला दिने, म्याच गर्ने मान्छेहरुको खोजी गर्न नसक्नाले पनि केही मान्छेहरु उपचारबाट वञ्चित भएको देखिएको हो । अहिलेसम्म हामीले नेपाल सरकारको तर्फबाट मृगौला खोजेर गरिदिने भन्ने परिस्थितिमा हामी छैनौँ । पहिला कानून साँघुरो थियो, फेरी यसलाई दुरुपयोग पनि भएको हुनाले हामीले कानून बनाउनु परेको हो । अहिले दान गर्न पाउने सर्कललाई हामीले ठुलो बनाएका छौँ । नाता पर्नेजति सबैले पाउँछ । हामीले मृत्यूपश्चातको अंग दान पनि गर्न सक्छौँ । मृत्युपश्चातको अंग दान गर्न सक्यौँ भने अझ मृगौला पीडितहरुले धेरै सुविधा पाउन सक्नुहुन्छ ।’

मन्त्री खतिवडाले मृगौला प्रत्यारोपण गरेका व्यक्तिहरु पनि मृगौला नफेरेका व्यक्तिहरु जस्तै स्वस्थ हुनसक्ने भन्दै आत्तिनु नहुने बताउनुभयो । मृगौला प्रत्यारोपण गरेका व्यक्तिले चिन्तित भएर आफूलाई कमजोर बनाउनु नहुने उहाँको भनाइ छ ।

प्रतिक्रिया