भीमफेदी गाउँपालिकाका अध्यक्ष लामा सम्मानित

पालिका डायरी
१७ फाल्गुन २०७८, १८:०६
सेना दिवसमा भीमफेदी गाउँपालिकाका अध्यक्ष लामा सम्मानित

हेटौंडा /  सेना दिवसको अवसरमा भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामालाई प्रधान सेनापति प्रंससा निशानबाट सम्मान गरिएको छ ।

नेपाली सेनाको भावनासंग जोडिएको ऐतिहासिक चिसापानी गढी पुर्ननिर्माण र संरक्षण कार्यमा तदारुकता देखाएको भन्दै सेना दिवसको अवसरमा अध्यक्ष लामालाई सम्मान गरिएको हो ।

प्रधान सेनापति महारथी प्रभुराम शर्माको हातबाट सेना दिवस २०७८ को अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा सम्मान गरिएको हो । देशभरै ४३ जना गैर सैनिकलाई सेनाले सम्मान गरेको हो ।

भीमफेदी गाउँपालिका, संस्कृति पर्यटन मन्त्रालय र पुरातत्व विभागको संयुक्त लागतमा २८ करोडको गुरु योजना निर्माण गरी चिसापानी गढी संरक्षण र पुर्ननिर्माण कार्य भईरहेको छ । गाउँपालिकाले केही महिनाअघि प्रधानसेनापतिकै हातबाट चिसापानी गढीको पुर्ननिर्माण कार्यको समुद्घाटन गरेको थियो ।

प्रतिक्रिया