महाशिवरात्रिमा पशुपति क्षेत्र वरपर यसरी हुँदैछ ट्राफिक व्यवस्थापन

पालिका डायरी
१६ फाल्गुन २०७८, १९:३१
महाशिवरात्रिमा पशुपति क्षेत्र वरपर यसरी हुँदैछ ट्राफिक व्यवस्थापन

महानगरीय ट्राफिक प्रहरी महाशाखाले भोलि मङ्गलवार परेको महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथ क्षेत्र वरपरको क्षेत्रमा ट्राफिक व्यवस्थापन मिलाएको छ । पशुपति क्षेत्रमा पूजाआजामा आउने भक्तजन एवम् दर्शनार्थीको भिडलाई मध्यनजर गरी महाशाखाले सहज आवतजावतको प्रबन्ध मिलाएको हो ।

यस्तै विभिन्न नाका भइ भित्रिने भक्तजनका लागि छुट्टा–छुट्टै ठाउँमा पार्किङको प्रबन्धसमेत मिलाइएको महाशाखाले जनाएको छ । धेरै टाढाबाट भक्तजन आउने हुनाले उनीहरूको सुविधाका लागि निजी तथा अन्य प्रकारका यातायातका साधनलाई निर्वाध आवतजावतको व्यवस्था मिलाउँदै पार्किङ गर्ने ठाउँसमेत तोकिएको छ ।

नियमित जस्तै चावहिल, गौशाला, तिलगङ्गा क्षेत्रमा निर्वाध रूपमा गाडी चलाउने व्यवस्था मिलाइएको छ । तर भक्तजनको भिड धेरै भइ गाडी सञ्चालनमा समस्या हुन गएमा यो रुटमा भक्तजनबाहेकका सवारीलाई वैकल्पिक मार्गबाट सञ्चालनको व्यवस्था मिलाइने महाशाखाका प्रमुख एवम् एसएसपी उमेशराज जोशीले बताउनुभयो । चक्रपथमा चल्ने यातायात दर्शनार्थीको चापका कारण सञ्चालन गर्न नसक्ने अवस्था आएमा गौशाला क्षेत्रमा गाडी आवागमन निषेध गरी वैकल्पिक मार्ग भइ सञ्चालनको व्यवस्था मिलाइने उहाँले जानकारी दिनुभयो ।

विभिन्न क्षेत्रबाट आउने दर्शनार्थी एवम् भक्तजनका यातायातका साधनलाई सिफल चौर, गौरीघाट करिडोर, गुह्येश्वरी, र तिलगङ्गा करिडोरमा पार्किङकाे व्यवस्था मिलाएको छ । यसैगरी पशुपति क्षेत्र विकास कोषको कार्यालयभित्र कोष तथा पासवाहक यातायातका साधन, गौशाला प्रहरी कार्यालयभित्र सुरक्षा निकाय तथा पासवाहक सरकारी यातायातका साधन र वनकाली क्षेत्रमा अन्य अत्यावश्यक प्रयोजनका यातायातका साधन पार्किङ गर्ने व्यवस्था मिलाइएको महाशाखाले जनाएको छ ।

ट्राफिक महाशाखाका प्रवक्ता एवम् प्रहरी उपरीक्षक संजिव शर्मा दासले गौशाला चोकमा भिड धेरै भइ सवारी चल्न सक्ने अवस्था नभएमा चावहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वर मैतिदेवीबाट रातोपुल हुँदै गौशालातर्फ, सिफल चौरबाट जय वागेश्वरीतर्फको रुटमा चल्ने सवारीलाई वैकल्पिक मार्ग भइ सञ्चालनको व्यवस्था मिलाइएको जानकारी दिनुभयो । उहाँले तीनकुनेबाट सिनामङ्गल तिलगङ्गातर्फ, चाबहिलबाट गौशालातर्फ र बाग्मती करिडोरबाट गौरीघाट र तिलगङ्गा क्षेत्र भइ चल्ने मालवाहक गाडीलाई निषेध गरी डाईभर्सनको प्रबन्ध मिलाइने समेत बताउनुभयो ।

ट्राफिक प्रहरी महाशाखाले पशुपतिनाथको मन्दिर दर्शन गर्न आउने दर्शनार्थीबाहेक चावहिल, गौशाला, तिलगङ्गा हुँदै अन्यत्र जाने यातायातका साधनलाई वैकल्पिक मार्गको प्रयोग गर्नसमेत अनुरोध गरेको छ ।

प्रतिक्रिया