दुई हजार दरका नोट चलाउन नेपाललाई भारतको आग्रह, पहिलेका नोट साट्न नेपालको सर्त

पालिका डायरी
१४ फाल्गुन २०७८, १९:३२
दुई हजार दरका नोट चलाउन नेपाललाई भारतको आग्रह, पहिलेका नोट साट्न नेपालको सर्त

काठमाण्डाै /  भारतले नेपाललाई भारतीय दुई हजार दरका नोट चलन चल्तीमा ल्याउन आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयमार्फत भारतले दुई हजार दरका नोट चल्तीमा ल्याउन पटक पटक आग्रह गरिरहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

नेपाल आउनेहरुलाई समस्या परिरहेको भन्दै भारतले आग्रह गरिरहेको हो । ‘भारतबाट नेपाल आउने पर्यटकले सयका नोट बोकेर आउँदा निकै झण्झट भइरहेको र परिमाण पनि धेरै हुने भएकाले बोक्न समस्या परिरहेको भन्दै दुई हजार रुपैयाँका नोट चलाइदिन पर्यो भनेर भारतले आग्रह गरिरहेको छ’, नेपाल राष्ट्रबैंकका एकजना कार्यकारी निर्देशकले भने । तर नेपालले भने यहाँ रहेका पुराना एक हजार र पाँच सय दरका नोट सटही नगरेसम्म दुई हजार दरका नोट चलनमा ल्याउन नसकिने सर्त राखेको छ ।

नेपालमा बैंकहरुसँग भएका सात करोड रुपैयाँ बराबरका भारतीय पाँच सय र एक हजार दरका नोट साटेपछि मात्रै दुई हजार दरका नोट चलाउनेबारे निर्णय गर्न सकिने जवाफ दिएको राष्ट्र बैंकका कार्यकारी निर्देशकको भनाइ छ । व्यक्तिहरुसँग भएका भारतीय पाँच सय र एक हजार दरका नोट कति छन् भन्ने औपचारिक जानकारी नभए पनि बैंकहरुसँग भएका सात करोड रुपैयाँ बराबरका नोट साट्न नेपालले पटक पटक आग्रह गरेको तर भारतले नमानेको राष्ट्र बैंकले जनाएको छ ।

भारतले कालो धन नियन्त्रणको लागि भन्दै २०७३ सालमा एक हजार र पाँच सय दरका नोटमा प्रतिबन्ध लगाएर दुई हजार दरका नोट निष्कासन गरेको छ । भारतले प्रतिबन्ध लगाएपछि नेपाल सरकारले पनि भारतीय पाँच सय र एक हजार दरका नोटमा प्रतिबन्ध लगाएको छ ।

प्रतिक्रिया