एमसीसी पारित गराउन साथ नदिने भए सरकार छोड्न प्रचण्डलाई बाबुरामकाे आग्रह

सत्तासाझेदार जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संसदबाट एमसीसी पारित गराउन साथ नदिने भए तत्काल सरकार छोड्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गर्नु भएको छ ।
पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष भट्टराईले संसदबाट एमसीसी पास गर्ने बेला आफूहरु बाहिरिने भनेर लटरपटर कुरा नगर्न पनि दाहाललाई चेतावनी दिनुभयो । उहाँले एमसीसी सम्झौंता संसदमा रहेको कूल सदस्य संख्याको स्पष्ट बहुमतबाट पारित गर्न साथ नदिए माओवादी केन्द्र सरकारबाट बाहिरिनु पर्ने र त्यसको ठाउँमा अर्को पार्टी आउने दाबी समेत गर्नु भयो । शनिबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले सरकारमा बसेर तर मार्ने अनि बाहिरबाहिर राष्ट्रवादी भनेर भित्रभित्र राष्ट्रघात गर्न माओवादी केन्द्रले नपाउने बताउनु भयो ।
उहाँले आफूहरु संसदबाट स्पष्ट बहुमत पुर्याएर सो सम्झौता पारित गराउन लागि परेको बताउनु भयो । एमसीसी मुलुकको समृद्धि र विकासका लागि पनि नेपालले पारित गरेर जानुपर्ने भट्टराईको तर्क थियो । उहाँले एमसीसी पारित नभए नेपाल चीन, भारत र अमेरिकाको भूराजनीतिक चपेटामा पर्ने खतरासमेत औंल्याउनु भयो ।
‘मैले संसदमा पनि र बाहिर पनि प्रष्ट ढंगले भन्ने गरेको छु । यो एमसीसी सहमतीबाट पछाडि हट्दाखेरी ठूलो संकट हामीसँग आइपर्दैछ । त्यसलाई राष्ट्रिय सहमती बनाएर जानुपर्छ । यसको निम्ति अब संसदमा स्पष्ट बहुमतले पारित गर्नुपर्छ । कोही मान्छे लटरपटर पारेर लौ यो हामी छोडिदिन्छौं, हामी चाँही बाहिर गईहाल्छौं । तपाईं पास गर्नोस् भनेर झिनो मतले अब संसदबाट उपस्थितिको बहुमत । संसदमा ६८ जना भए कोरम पुग्छ । त्यसको आधा ३५ हुन्छ । अनि, ३५ जनाले पारित गर्ने ? यस्तो महत्वपूर्ण मुद्धा, हुँदैन’ भट्टराईले भन्नु भयो, ‘संसदको अहिलेको संख्या २७५ हो । भलै २७१ संख्या छ । यसको आधा १३८ हुन्छ । १३८ भन्दा माथि पुर्याएर नै यसलाई पास गर्नुपर्छ । त्यो भन्दा तल लटरपटर कर्मकाण्ड गरियो भने जनतामाथि धोका हुन्छ । त्यसो गर्न पाईदैन । मेरो विनम्र आग्रह छ । खासगरी मेरा पुराना मित्र प्रचण्डजीलाई । कि त तपाईंले यसलाई साथ दिनोस् १३८ पुर्याएर पारित गर्नोस् । होइने भने तपाई सत्तामा पनि बस्ने, तर पनि मार्ने अनि बाहिर चाँही राष्ट्रवाद भित्र चाँही राष्ट्रघात गर्न पाईंदैन ।’
भट्टराईले नेपालले चीन, भारत र अमेरिकालगायतका सबै देशको सहयोग लिएर मुलुकको विकास, समृद्धि र दीगो शान्तिका लागि काम गर्नुपर्ने दोहोर्याउनु भयो । उहाँले एमसीसी सम्झौता आफ्ना लागि नभइ राष्ट्रको हितमा भएकाले यसलाई पारित गर्न आफू लागि परेको बताउनु भयो ।