अमेरिकी दबाव झेल्न नसकेर प्रधानमन्त्रीले एमसीसी संसदमा पेश गर्नुभयो : झलनाथ खनाल

पालिका डायरी
११ फाल्गुन २०७८, २०:२९
एमसीसी टेबल गर्ने सहमतिप्रति झलनाथ खनालको आपत्ति, भने- ‘राष्ट्र र जनतामाथि घात’

पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाको दवावलाई झेल्न नसकेर एमसीसी संसदमा पेश गरेको बताउनुभएको छ ।

बुधबार सञ्चारकर्मीसँगको कुराकानी पूर्वप्रधानमन्त्री खनालले प्रधानमन्त्री देउवाले पाँच दलीय गठबन्धनको बैठकमा एमसीसीको कुरा बारम्बार गरिरहेको र दवावका कारण चाँडो भन्दा चाँडो टुंग्याउने र एमसीसी नेपालको हितमा रहेको कुरा बताएको पनि उल्लेख गर्नुभयो ।

पूर्व प्रधानमन्त्री खनालले एमसीसी बारे अध्ययनका लागि सरकारले गठन गरेको तीन सदस्य कार्यदलमा पनि हरेक पार्टीका नेताहरूको आ–आफ्नै धारणा आएकोले एमसीसीको बारेमा स्पष्ट लिखित धारणा नबनाइएको बताउनुभयो ।

उहाँले एमसीसीमा रहेका केही शर्तहरू अनावश्यक र आपत्तिजनक रहेको र कार्यदलले अध्ययनका क्रममा एमसीसीका २०१७ को दस्ताबेज र २०१९ को कार्यान्वयन सम्झौता भन्दा अन्य नयाँ नौ वटा सम्झौता फेला पारेको पनि बताउनुभयो ।

पूर्व प्रधानमन्त्री खनालले एमसीसी दस्ताबेजको अध्ययन गर्दा एमसीसी पास गरेपछि नेपालले अमेरिकी राष्ट्रिय सुरक्षा अवधारणालाई पालन गर्नुपर्ने शर्त रहेको र यो नेपालका लागि स्वीकर्य नहुने बताउनुभयो ।

खनालले सम्झौता मानिसकेपछि नेपालले उदार अर्थतन्त्र मान्नुपर्ने, उदार लोकतन्त्र मान्नुपर्ने, बजार अर्थतन्त्र मान्नुपर्ने शर्त, अमेरिकाको प्रचलित कानूनहरू र पछि बन्ने कानूनहरू पनि मान्नुपर्ने जस्ता शर्त रहेको उल्लेख गर्दै यस्ता कुराहरूमा नेपालले एमसीसी पास गर्न नसक्ने बताउनुभयो ।

पूर्व प्रधानमन्त्री खनालले एमसीसी सम्झौता ५ वर्षका लागि भनिए पनि केही धारा तथा उपधाराहरूमा यो सदाका लागि रहिरहने उल्लेख गरिएकोसमेत बताउनुभयो ।

पूर्व प्रधानमन्त्री खनालले अमेरिकी महाशक्तिका सामु नेपाल सरकार नतमस्तक भएर एमसीसी संसदमा पेश गरेको आरोप लगाउनुभयो । उहाँले एमसीसी सम्झौता दुई सरकारबीच नभइ नेपाल सरकार र अमेरिकी एक निगमबीच भएको बताउनुभयो ।

खनालले एमसीसी अन्तर्राष्ट्रिय सम्झौता नभएको भन्दै अमेरिकाले भन्दैमा नेपालको संसदबाट पारित गर्नुपर्ने कुरा स्वीकार्य हुन नसक्ने बताउनुभयो । सरकारले नेपालको संविधानको बिरुद्धमा गएर एमसीसी संसदमा पेश गरेको भन्दै यो सरकारको लज्जास्पद भएको उहाँको भनाइ छ ।

संवादको क्रममा पूर्व प्रधानमन्त्री खनालले प्रधानमन्त्री देउवा अमेरिकाको पासोमा पर्नुभएको बताउनुभयो । सत्ता गठबन्धनले चुनावपछि गहन छलफल गरेर निचोडमा पुग्ने प्रस्ताव राख्दासमेत प्रधानमन्त्री देउवाले अस्वीकार गर्नुभएको बताउँदै उहाँले एमसीसी पास गराउन प्रधानमन्त्रीले एमालेसँग साँठगाँठ गर्नुको विकल्प नरहेको बताउनुभयो ।

पूर्व प्रधानमन्त्री खनालले नेकपा (एकीकृत समाजवादी)ले एमसीसीको विपक्षमा भोट हाल्ने र सत्ता गठबन्धनबाट एमसीसी पास नहुने बताउनुभयो । आँट, बुद्धि र दृष्टिकोण भए देश, जनता, संसद र गठबन्धनको आड लिएर एमसीसीमाथि बार्गेनिङ गरेर संशोधन गर्न प्रधानमन्त्री देउवालाई चुनौति दिनुभयो ।

पूर्व प्रधानमन्त्री खनालले देशका नागरिकहरूको रगत बगाएर र रगत कुल्चिएर सरकारले एमसीसी सम्झौता अनुमोदन गरेमा त्यो भन्दा दुःखद् अध्याय नेपालको इतिहासमा अरु केही नहुने बताउनुभयो । उहाँले संकल्प प्रश्ताव ल्याएर पनि कुनै तुक नरहेको उल्लेख गर्नुभयो ।

पूर्व प्रधानमन्त्री खनालले देशहित विपरीत भई एमसीसी पास गर्ने अडानमा कांग्रेस हो भने एमालेसँग समीकरण गरेर जान स्वतन्त्र रहेको बताउनुभयो । उहाँले प्रधानमन्त्री तथा काँग्रेसका अन्य नेताहरूलाई पनि आफूले देशहित विपरीतका काममा आफूले साथ दिन नसक्ने भनेको उल्लेख गर्दै देशहित विपरीत एमसीसी पास भए सरकारमा सहभागी दलहरू आ–आफ्नो बाटोमा हिँड्नुपर्ने हुनसक्ने बताउनुभयो ।

पूर्व प्रधानमन्त्री खनालले नेपाली कांग्रेसले एमालेसँग समीकरण गरेर एमसीसी पास गराए पनि आकाश पृथ्वी नखस्ने उल्लेख गर्दै आफू देश र राष्ट्रको हितमा, जनताको हितमा र यो राष्ट्रको अग्रगति, प्रगति र समृद्धिको हितमा निरन्तर रहने बताउनुभयो ।

प्रतिक्रिया
jhalanath