हेटौंडा आइपुग्यो ‘जाउँ है पोखरा’ अभियान

पालिका डायरी
१० फाल्गुन २०७८, १९:३३
हेटौंडा आइपुग्यो ‘जाउँ है पोखरा’ अभियान सुनिता बिष्ट

हेटाैंडा / आन्तरिक पर्यटन प्रबद्र्धन गर्ने उदेश्यले संञ्चालन गरिएको ‘जाउँ है पोखरा’ अभियान हेटौंडा आइपुगेको छ । मंलबार हेटौंडामा ‘जाउँ है पोखरा’ अभियानको बारेमा जानकारी तथा अन्तरक्र्रिया कार्यक्रमको आयोजना गर्दै पोखरा होटल संघका अध्यक्ष लक्ष्मण सुवेदीले हेटौंडा घुम्न आएका आन्तरिक पर्यटकहरुलाई पोखरा घुम्न जान प्रेरित गर्नको लागि हेटोैंडामा अभियान ल्याएको बताए । नेपालको सुन्दर पर्यटकीय नगरी पोखर घुम्ने निम्तो स्वरुप पोखराका होटल व्यवसायी हेटौंडा आइपुगेका हुन् ।

बागमती प्रदेशको राजधानी समेत रहेको हेटौंडा आफैमा पर्यटकीय क्षेत्र भएको र यहाँ आएका आन्तरिक पर्यटकहरुलाई अर्को विकल्पको रुपमा पोखरा घुम्न आग्रह गर्दै हेटौंडाका पर्यटन व्यवसायीसँग मंगलबार विहान अन्तक्र्रिया भएको हो ।
होटल संघ पोखराले दुई दशकदेखि सुरु गरेको ‘जाउँ है पोखरा’ अभियानका कारण आन्तरिक पर्यटनमा वृद्धि भएको जाउँ है पोखरा अभियानका संयोजक विकल तुलाचनले बताए । विश्वव्यापी रुपमा फैलिएको कोरोना प्रभावका कारण होटल व्यवसायमा निकै प्रभाव पारेको बताउँदै संयोजक तुलाचनले पोखराको मात्रै नभई सबै ठाउँको पर्यटन तथा होटल व्यवसाय उकास्न निम्तो लिएर देशको विभिन्न शहरमा पुगिरहेका जानकारी दिए ।

जाउँ है पोखराका संयोजक विकल तुलाचनका अनुसार जनकपुर, धनगढी, सिमरा, नेपालगञ्ज र भैरहवाबाट पोखरा हवाइ सेवा जोडिएका कारण पर्यटन क्षेत्र थप चलायमान हुने विश्वास लिइएको बताए । ‘नेपाली नयाँ वर्षको सन्दर्भमा हामीले आयोजना गर्दै आएको फेवा नववर्ष महोत्सवको नियमन्त्रणा पनि हामीले प्रदान गरिरहेका छौं ।’, उनले भने ।

होटल संघ पोखराको टोली पोखरा घुम्ने निम्तो लिएर वुटवल, चितवन, हेटौंडा र वीरगञ्जसम्म यसवर्ष पुग्ने क्रममा रहेको छ । ‘महिनौंको लामो लकडाउनले व्यवसाय बन्द भएर थुप्रै व्यवसायी पलायन हुन पुगेका छन् । १० वर्षे आन्तरिक द्वन्द्व र महाभुकम्पको समयमा समेत नेपाली पर्यटनमा यति डर लाग्दोरुपमा प्रभावित भएको थिएन । व्यवसायिक जगतमा आशा जगाउँदै सुस्ताएको आन्तरिक पर्यटनलाई पुनःउत्थान गर्ने मुख्य उद्देश्यले हामी पोखरा घुम्ने निम्तो बोकेर विभिन्न शहरमा पुगिरहेका छौं ।’, संघ अध्यक्ष लक्ष्मण सुवेदीले भने ।

 

प्रतिक्रिया