संसद् बैठकमा एमसीसी टेबल हुने निश्चित, अनुमाेदन भने अनिश्चित : संसद्अघि सत्ता गठबन्धनको बैठक बस्दै
काठमाण्डाै / सत्ता गठबन्धनमा रहेका दलहरू लचिलो भएसँगै आजको संसद् बैठकमा एमसीसी टेबल हुने सम्भावना बढेको छ ।
अनौपचारिक रुपमा मोटामोटी सहमति भइसके पनि सत्तागठबन्धनका दलहरुले औपचारिक निर्णय गरिसकेका छैनन् । औपचारिक निर्णय गर्न गठबन्धनको बैठक आज पनि बस्दै छ । बिहान १० बजे बस्ने बैठकमा औपचारिक सहमति हुने सम्भावना छ ।
बैठकले एमसीसी संसदमा पेस गर्ने कि नगर्ने भन्ने विषयमा साझा धारणा बनाउने छ । यसअघि पटक–पटक बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन हुँदै आएको थियो । अमेरिकाले एमसीसी पास गर्न आउँदो १६ गतेसम्मको समयसीमा दिएको छ ।
आजको बैठकमा सहमति जुटे दिउँसो १ बजे बस्ने संसद् बैठकमा एमसीसी टेबल हुनेछ । एमसीसीकै कारण सत्ता गठबन्धन धरापमा परेपछि विरोध गर्दै आएका माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी लचिलो बनेका हुन् ।
माओवादी केन्द्रले गठबन्धनमा सहमति नभइ जबरजस्ती एमसीसी अगाडि बढाए सरकारबाट बाहिरिने निर्णय गर्दै कार्यकर्तालाई सडक सङ्घर्षमा पठाएको थियो भने एकीकृत समाजवादीले आजसम्मका लागि पर्खिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेको थियो ।
एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल संसदमा एमसीसी पेस गर्न सकारात्मक देखिनु भएको छ भने सत्तागठबन्धन बचाउनै पर्ने बाध्यतामा पुगेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सकारात्मक देखिनु भएको छ ।
यस्तै, जसपाका अध्यक्ष उपेन्द्र यादव पक्ष पनि एमसीसी अगाडि बढाउन तयार भएको छ । तर, विवादित विषय परिमार्जन गर्नुपर्ने उनीहरूकाे अडान भने यथावत् नै रहेकाले आजको संसद् बैठकमा एमसीसी पेस भए पनि अनुमोदन हुनेमा भने अन्याेल छ ।
यसैबीच, संसद् बैठक अघि सभामुख अग्निप्रसाद सापकोटाले पनि एमसीसीलगायत विषयमा छलफल गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनु भएको छ । उहाँले सत्ता गठबन्धनमा सहमति बने एमसीसीलाई नरोक्ने बताउँदै आउनुभएको छ ।