१ सय अङ्कले घटेकाे शेयर बजार राताम्मे

पालिका डायरी
१० माघ २०७८, १६:३७

शेयर बजार परिसूचक नेप्से आज साेमवार झन्डै एक सय अङ्कले घटेको छ । हिजो आइतवार १८ अङ्कले घटेको नेप्से आज ९९ दशमलव ८६ अङ्कले घटेर दुई हजार आठ सय २० दशमलव ६५ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर घटेकोमा जीवन बीमा, निर्जीबन बीमा, विकास बैंक समूहको शेयर उच्च अङ्कले घटेको छ । जीवन बीमाकाे शेयर पाँच सय ६९, निर्जीवन बीमाकाे पाँच सय ६ र विकास बैंक समूहकाे शेयर दुई सय ३४ अङ्कले घटेकाे छ । यस्तै माइक्राेफाइनान्सकाे एक सय ८३, व्यापारकाे एक सय १३, फाइनान्सकाे एक सय १०, र हाेटलकाे एक सय सात अङ्कले घटेकाे छ ।

आज दुई सय २८ कम्पनीको एक करोड ६३ हजार कित्ता शेयर आठ अर्ब ८८ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै अपी पावर कम्पनीको ३८ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

आज कर्णाली विकास बैंक र माउन्टेन हाइड्रोको शेयर सबैभन्दा धेरै साढे सात प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि विन नेपाल लघुवित्त र बुद्धभूमि नेपाल जलविद्युतकाे शेयरमा सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया