उदयपुर : जीप दुर्घटनामा घाइते भएका एक जनाको ज्यान गयाे

पालिका डायरी
४ माघ २०७८, १३:०५
उदयपुर : जीप दुर्घटनामा घाइते भएका एक जनाको ज्यान गयाे

उदयपुरको सिद्धिचरण राजमार्गको कटारी मरुवा खण्डमा जीप दुर्घटना हुँदा एक जनाकाे ज्यान गएकाे छ । पाँच जना घाइते भएका छन् ।

साेमवार दिउँसाे भएकाे दुर्घटनामा गम्भीर घाइते भएका कटारी नगरपालिका-८ पाखाटोलका ३८ वर्षीय विक्रम रानामगरको उपचारका क्रममा ज्यान गएकाे हाे ।

कटारी बजारबाट कटारी नगरपालिकाकै वडा नम्बर ८ मा पर्ने सिरिसे घुम्तीतर्फ जाँदै गरेको बा १० च ४१८८ नम्बरको जीप आफैँ अनियन्त्रित भइ दुर्घटनामा परेकाे थियाे ।

दुर्घटनामा कटारी नगरपालिका-८ पट्नाभञ्ज्याङकी ३० वर्षीया दिलमाया मगर, १७ वर्षीय मनोज खड्का, घुम्तीकै दीपक श्रेष्ठको सात वर्षीय छोरा दिवश श्रेष्ठ, ४८ वर्षीया बुद्धमाया श्रेष्ठ, ३६ वर्षीया बेदकुमारी थापामगर घाइते भएका छन्। घाइते सबैको कटारी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

जीप चालक कटारी नगरपालिका-८ बस्ने २६ वर्षीय प्रेम बहादुर श्रेष्ठकाे खोजी भइरहेको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया