काठमाडौंमा २८ प्रहरीलाई कोरोना संक्रमित
काठमाडौं । काठमाडौं प्रहरी परिसर, टेकु र अन्तर्गत कार्यरत प्रहरीमध्ये २८ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो एक सातामा लक्षण देखिएपछि गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको काठमाडौं प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो । उहाँका अनुसार मातहतका हिरासतमा रहेका १० जना थुनुवा पनि संक्रमित भएका छन् ।
उनीहरूलाई कीर्तिपुरस्थित सामुदायिक आइसोलेसन सेन्टरमा राखिएको छ । काठमाडौं प्रहरी मातहत राजधानीमा प्रहरी नायब उपरीक्षक (डीएसपी) को कमाण्डमा १४ वटा प्रहरी वृत्त र प्रहरी निरीक्षक (इन्स्पेक्टर) को नेतृत्वमा ९ वटा प्रभाग छन् ।
सई र हवल्दारको नेतृत्वमा थप २० वटा कार्यालयसहित २९ वटा थप युनिट छन् । प्रहरी प्रधान कार्यालयका अनुसार हालसम्म ६० हजार ५९७ जना प्रहरी कर्मचारीले पहिलो र ४८ हजार ४४५ जना जनाले दुवै डोज कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।