प्रदेश २ को राजधानी जनकपुरधाम कायम

पालिका डायरी
३ माघ २०७८, १५:४६
प्रदेश २ को राजधानी जनकपुरधाम कायम

प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम कायम भएको छ ।

सोमबार प्रदेशसभामा भएको मतदानमा दुई तिहाइभन्दा बढी मत जनकपुर राजधानी बनाउनुपर्ने पक्षमा परेकाले प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम भएको सभामुख सरोजकुमार यादवले जानकारी दिनुभयो ।

प्रदेशसभा भएका १ सय ४ कुल सदस्यमध्ये ९९ जना मात्र मतदानमा सहभागी भएका थिए । ९९ जनामध्ये जनकपुरधाम राजधानीको पक्षमा ७८ मत खसेको र उक्त संख्या दुई तिहाइ बहुमतभन्दा धेरै भएको सभामा जानकारी गराइएको थियो ।

उत्तरमा धनुषा ढल्केवरको पूर्व–पश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपाल भारतको दशगजा सिमाना र पश्चिममा मिथिला माध्यमिकी परिक्रमाक्षेत्र भित्रको सम्पूर्ण भूभाग प्रदेश २ को राजधानी कायम भएको सभामुखले जानकारी गराउनुभयो ।

जनकपुरधाममा दुई तिहाइभन्दा धेरै बहुमत परेकाले वीरगञ्जलाई राजधानी बनाउने प्रस्ताव स्वतः निस्क्रिय भएको छ । जनकपुरधाम राजधानी भए पनि नाममा भने दलहरुबीच सहमति हुन सकेको छैन । छलफलका लागि भन्दै सभामुख यादवले १ घण्टा बैठक स्थगित गर्नुभएको छ ।

प्रतिक्रिया