डब्लुएचओले भन्यो- ओमिक्रोनले गम्भीर पार्दैन भन्ने थप तथ्यहरू आउँदैछन्

पालिका डायरी
२१ पुष २०७८, ११:३२
ओमिक्रोनविरुद्ध पनि खोपले काम गर्ने विश्व स्वास्थ्य संगठनको दाबी

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अधिकारीले हाल संसारभरि फैलिइरहेको कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टले स्वास्थ्यमा गम्भीर असर पार्दैन भन्नेबारे थप तथ्यहरू आइरहेको बताएका छन्।

समाचार संस्था रोयटर्सका अनुसार मंगलबार जेनेभामा पत्रकारहरूसँग कुरा गर्दै डब्लुएचओका इन्सिडेन्ट म्यानेजर अब्दी महामुदले थप अध्ययनहरूले ओमिक्रोनले श्वास-प्रश्वास प्रणालीको माथिल्लो भागमा असर गर्ने र संक्रमण तीव्र भए पनि संक्रमितलाई गम्भीर समस्या नहुने देखिएको बताएका हुन्।

पछिल्लो समय अमेरिकालगायत मुलुकमा ओमिक्रोनका संक्रमित ह्वात्तै बढे पनि मृत्युदर र अस्पताल भर्ना हुने दर कम रहनुको पछाडि ओमिक्रोनले गम्भीर असर नपार्नु कारण भएको महामुदले बताए। ‘यो खुसीको खबर हुन सक्छ तर हामीले यसलाई प्रमाणित गर्न अझ धेरै अध्ययनहरू गर्नुपर्छ,’ उनले भने।

गत नोभेम्बरमा पहिलो पटक ओमिक्रोन भेरियन्ट दक्षिण अफ्रिकामा फेला परेको थियो। डब्लुएचको तथ्यांकअनुसार ओमिक्रोन अहिले संसारका १२८ देशमा फैलिसकेको छ।दक्षिण अफ्रिकाले भने आफूले ओमिक्रोनको लहर पार गरिसकेको बताएको छ। गत बिहीबार दक्षिण अफ्रिकाको सरकारले ओमिक्रोनको लहरबाट मृत्युदरमा सामान्य वृद्धिमात्र भएको जनाएको थियो।

‘ओमिक्रोनका कारण चौथो लहरको संक्रमण बढ्यो, उच्च विन्दुमा पुग्यो र अहिले झरेर सुस्त भएको छ,’ दक्षिण अफ्रिका मेडिकल रिसर्च काउन्सिलका फारिद अब्दुल्लाहले भने,‘चार सातामा संक्रमण उच्च विन्दुमा पुग्यो र पछिल्ला दुई सातामा ओह्रालो लागेको छ। यो लहरभन्दा पनि अचानक आएको बाढीजस्तो थियो।’

महामुदले भने दक्षिण अफ्रिकाको विशेष परिस्थिति भएकाले सबै ठाउँमा ओमिक्रोनको संक्रमण दक्षिण अफ्रिकाको जस्तै नहुन सक्ने बताए। जनसंख्यामा उमेर समूह, खोप लगाउने मानिसको संख्या आदि कुराले संक्रमण कसरी बढ्छ भन्ने फरक पर्ने उनको भनाइ छ।

धेरै मानिसले खोप नलगाएका देशमा केही समयपछि ओमिक्रोनको संक्रमणले अस्पतालहरू भरिन सक्ने उनले चेतावनी दिए।

अहिले अमेरिका र युरोपसहित विभिन्न मुलुकमा ओमिक्रोनको संक्रमण तीव्र भइरहेको छ।

मंगलबार एकैदिन संसारभरि २१ लाख बढी मानिस संक्रमित भएका छन्।

प्रतिक्रिया