वैदेशिक रोजगारमा जाने श्रमिकलाई दुःख दिए कारबाही गर्छु : मन्त्री आले
![वैदेशिक रोजगारमा जाने श्रमिकलाई दुःख दिए कारबाही गर्छु : मन्त्री आले](https://www.palikadiary.com/wp-content/uploads/2022/01/270130395_651388706056339_6693922292993964318_n-scaled-1.jpg)
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले वैदेशिक रोजगारका लागि विदेशमा जाने श्रमिकहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अनावश्यक दुःख दिनेलाई कारबाही गरिने बताउनु भएको छ ।
एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन नेपालले आज सोमबार मन्त्रालयमा मन्त्री आले एक ज्ञापन पत्र पेस गरी वैदेशिक रोजगारका लागि विदेशमा जाने श्रमिकहरूलाई विमानस्थलमा दुःख दिने गरेको जानकारी गराएपछि मन्त्री आलेले दुःख दिनेलाई कारबाही गरिने बताउनु भएको हो ।
मन्त्री आलेले वैदेशिक रोजगारमा जाने नागरिककै कारण देशमा रेमिट्यान्स भित्रिएको र सोझा, सिधा नागरिकलाई अनेक बहानामा दुःख दिनु गलत भएको बताउनुभयो । उहाँले भन्नुभयो, “वैदेशिक रोजगारीमा जाने गरिब नागरिकलाई सबैले सम्मान गर्नुपर्छ, दुःख दिने नियतले काम कुरा गर्नु गलत हो ।”
वैदेशिक रोजगारमा खाडी मुलुक जाने नागरिकका लागि आफूले सस्तो दरको हवाई टिकटको व्यवस्था गरेकाले सबै श्रमिकहरूले उक्त टिकटको उपयोग गर्न समेत मन्त्री आलेले आग्रह गर्नुभयो । आफू मन्त्री भएपछि वैदेशिक रोजगारमा जाने श्रमिकहरूका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विश्राम स्थल, खानेपानी र निःशुल्क वाइफाइको व्यवस्था गरेकाले आफू श्रमिकहरूका पक्षमा सधैँ सकारात्मक रहेको समेत मन्त्री आलेले जानकारी गराउनुभयो ।
मन्त्री आलेकै निर्देशनमा नेपाल वायुसेवा निगमले दैनिक ४० जना वैदेशिक रोजगारमा जाने श्रमिकलाई सस्तो दरको टिकट प्रदान गर्दै आएको छ । सो संगठनका अध्यक्ष सन्तकुमार लामाले मन्त्री आलेलाई एक ज्ञापन पत्र बुझाउनु हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बैदेशिक रोजगारका लागि जाने श्रमिकहरूसँग आवश्यक कागजपत्र हुँदा हुँदै पनि विभिन्न बहाना देखाइ कागजपत्र नपुगेको भन्दै त्यहाँ कार्यरत कर्मचारीहरूले दुःख दिने गरेको गुनासो गर्नु भएको थियो ।
साथै सो संगठनले हवाई भाडामा पनि केही घटाउनु पर्ने, विमानस्थलमा श्रमिकहरूको आवागमन तथा प्रस्थानमा सहज हुनु पर्ने, अन्तर्राष्ट्रिय हवाई सेवा प्रदायक संस्थाका पदाधिकारीहरूसँग हवाई भाडा व्यवस्थापनका लागि छलफल गर्नु पर्ने, वैदेशिक रोजगारीमा जाने श्रमिकहरूमाथि विमानस्थलमा दिइने दुःखको अन्त हुनु पर्ने माग राख्दै ज्ञापन पत्र पेस गरिएको संगठनका महासचिव मधुकर रिजालले जानकारी दिनुभयो ।
उक्त संगठनले पेस गरेको ज्ञापन पत्र बुझनु हुँदै मन्त्री आलेले श्रमिकहरूको सहजताका लागि आफू तत्वर रहेको र उक्त मागहरू कार्यान्वयन गरिने आश्वासन दिनुभयो । उक्त ज्ञापन पत्र पेस गर्ने कार्यक्रममा संगठनका अध्यक्ष सान्तकुमार लामा, वरिष्ठ उपाध्यक्ष वाइबी राई, उपाध्यक्ष बाबुराम खड्का, महासचिव मधुकर रिजाल, सचिव अनिल गिरी तथा सदस्य कामेश्वर शाहको सहभागिता रहेको थियो ।