नेपाली महिला टोली एभिसी एसियन सेन्ट्रल जोन भलिबलको फाइनल प्रवेश

पालिका डायरी
१२ पुष २०७८, १५:२५
नेपाली महिला टोली एभिसी एसियन सेन्ट्रल जोन भलिबलको फाइनल प्रवेश

 

साविक विजेता नेपाल अपराजित रहँदै बंगलादेशमा जारी महिलातर्फको एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

राउन्ड रोविन लिगको अन्तिम खेलमा किर्गिस्तानमाथि सोझो सेटमा जित निकाल्दै नेपालले लगातार दोस्रो संस्करणमा पनि अपराजित रहँदै फाइनलमा स्थान बनाउन सफल भएको हो ।

ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा सोमबार भएको एकपक्षीय खेलमा नेपालले पहिलो सेट २५–८ ले सहजै आफ्नो पक्षमा पारेको थियो ।

दोस्रो सेट २५–१४ ले आफ्नो पक्षमा पारेको नेपालले तेस्रो सेट २५–१६ ले आफ्नो पक्षमा पार्दै फाइनलमा पुग्न सफल भयो ।

अपराजित रहेको नेपालले लिग चरणमा श्रीलंकामाथि ३–२ को सेटमा जित निकालेको थियो । त्यसपछि माल्दिभ्स, बंगलादेश र उज्वेकिस्तानलाई समान ३–० को सोझो सेटमा हराएको थियो ।

उपाधिका लागि नेपालले अब मंगलबार उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । लिग चरणमै नेपालले उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।

उज्वेकिस्तानले सोमबारै श्रीलंकामाथि ३–२ को रोमाञ्चक जित निकाल्दै फाइनलमा स्थान बनाउन सफल भएको थियो ।

तेस्रो स्थानको लागि श्रीलंका र किर्गिस्तानबीच मंगलबार नै प्रतिस्पर्धा हुनेछ । लिग चरणमा अपराजित रहेको नेपालले ५ खेलबाट १४ अंक जोड्यो । दोस्रोमा रहेको उज्वेकिस्तानले ११ अंक जोड्यो ।

समान ११ अंक नै रहे पनि सेटमा श्रीलंका पछि पर्‍यो । कीर्गिस्तानले ६ अंक जोड्यो । माल्दिभ्स र बंगलादेशले अंकको खाता खोल्न सकेनन् ।

प्रतिक्रिया