कानपुरमा एक ब्यापारीको घरबाट १५० करोड बरामद, पैसा गन्नका लागि ६ वटा मेसिन मगाइयो

पालिका डायरी
११ पुष २०७८, ०८:२१
कानपुरमा एक ब्यापारीको घरबाट १५० करोड बरामद, पैसा गन्नका लागि ६ वटा मेसिन मगाइयो

 

एजेन्सी । छिमेकी राष्ट्र भारतको कानपुरस्थित आनन्दपुरीमा एक ब्यापारीको घरबाट १ सय ५० करोड नगद बरामद गरिएको छ । आयकर र जीएसटीका अधिकारीहरुले कानपुरको जुही थाना क्षेत्रको आनन्दपुरीमा बस्ने कन्नौजका ठूला पफ्र्यूम व्यापारी पियुष जैनको घरबाट ३६ घण्टा लगाएर १ सय ५० करोड नगद बरामद गरेको हो ।

आईटी विभागले व्यापारी जैनको घरबाट बरामद गरेको उक्त पैसा गन्नका लागि ६ वटा बैंकहरुबाट ६ वटा मेसिन नै मगाउनु परेको थियो । बरामद गरिएको उक्त १५० करोडलाई ठूलो कन्टेनरमार्फत् स्टेट बैंक लगिएको बताइएको छ ।

सुरुमा डीजीजीआईका अधिकारीहरुले कर छली गरेको आरोपमा ब्यापारी पियुष जैनको घर, कोल्ड स्टोर र पेट्रोल पम्पहरुमा छापा मारेको थियो । सोही क्रममा सय करोडौं रुपैयाँ बरामद हुन थालेपछि इन्कम ट्याक्सको टिमलाई पनि सूचना दिइएको थियो

त्यसपछि दुवै टोलीले ब्यापारी पियुष जैनको घरमा ३६ घण्टासम्म छापा मारेको थियो । सोही क्रममा अधिकारीहरुले पैसाको २१ वटा बाकस फेला पारेको हो । यस विषयमा आयकर विभागको टोली हिजैदेखि अनुसन्धानमा जुटेको बताइएको छ ।

जीएसटी खुफिया महानिर्देशन (डीजीजीआई)ले व्यापारी पियुष जैनका छोरा प्रत्युष जैनलाई पनि हिरासतमा लिएर सोधपुछ गरिरहेको बताइएको छ । केन्द्रीय अप्रत्यक्ष कर तथा भन्सार बोर्ड (सीबीआईसी)का अध्यक्ष विवेक जोहरीले पनि छापा मारेर करिब १५० करोड रुपैयाँ नगद बरामद गरिएको बताए ।

टोलीले कानपुर, कन्नौज, गुजरात, मुम्बईमा रहेको जैनको फ्याक्ट्री भएको सबै स्थानमा एकैसाथ छापा मारेको बताइएको छ । पियूष जैन समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवको निकट मानिन्छन् । उनले एक महिनाअघि मात्रै अखिलेश यादवको उपस्थितिमा लखनऊमा समाजवादी नामको पफ्र्यूम लन्च गरेका थिए ।

प्रतिक्रिया
a-72