सर्वदलीय बैठकमा कांग्रेसले भन्यो– ‘एमसीसी पास गरौँ’, माओवादी र नेकपा एसकाे विराेध

पालिका डायरी
४ पुष २०७८, २०:०४
सर्वदलीय बैठक : संसद् चल्न दिन एमालेलाई आह्वान

 

काठमाण्डाै/  प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाउनुभएको सर्वदलीय बैठकमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) को विषयलाई लिएर दलहरूबीच विवाद भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज आइतवार भएको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेबाहेक संसदमा प्रतिनिधित्व गर्ने सबै दल र शीर्ष नेता सहभागी थिए । बैठकको सुरुमै प्रधानमन्त्री देउवाले साना दललाई आफ्ना भनाइ राख्न अनुरोध गर्नुभएको थियो । त्यसपछि नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले एमसीसी कुनै पनि हालतमा पास गर्न नहुने विचार राखेका थिए । नेमकिपाका सांसद प्रेम सुवालले एमसीसीको बारेमा आफ्नो पहिलेकै अडान दोहोर्‍याउँदै पास गर्नै नहुने बताउनुभएको थियो ।

त्यसपछि बोल्नुभएका लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले यो विषयलाई संसदमा निर्णयका लागि पेस गरेपछि मात्रै आफूहरूले निर्णय गर्ने बताउनुभयो ।

एमसीसीको विषयमा साना दल मात्रै बोल्ने तर ठूला दल नबोलेर उम्किन खोजेको भन्दै नेमकिपाका सांसद प्रेम सुवालले नै प्रधानमन्त्रीलाई आग्रह गरेर ठूला दलका नेतालाई बोल्न लगाउन भन्नुभएको थियो । बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग फिर्ता पठाउने पक्षमा आफू नरहेको तर एमसीसी सम्झौतामा भएका कतिपय प्रावधानलाई संशोधन गर्नुपर्ने बताउनुभयो । प्रचण्डले सम्झौता रद्द गर्दा र फिर्ता पठाउँदा नेपालको छवि बिग्रने भन्दै संशोधन गर्नुपर्ने बताउनुभएको थियो ।

यस्तै नेकपा एकीकृत समाजवादी (एस) पार्टीका नेता वेदुराम भुसालले पनि संशोधनविना एमसीसी पास हुनै नसक्ने बताउनुभएको थियो । बैठकमा जनता समाजवादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले एमसीसी नेपालको हितमा रहेकाले संसदबाट पारित गराउनुपर्ने बताउनुभएको थियो ।

यस्तै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी अब निर्णयार्थ संसदमा पेस गर्नुपर्ने र ‘जे गर्नुपर्ने हो त्यहीँ गरौँला’ भनेपछि माओवादीका नेता नारायणकाजी श्रेष्ठले आपत्ति जनाउनुभएको थियो । सत्ता गठबन्धनमा सहमति नजुटाइकन एमसीसी संसदमा निर्णयार्थ पेस गर्नै नहुने श्रेष्ठको भनाइ थियो ।

बैठकमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र डा. रामशरण महतले पनि एमसीसी तत्काल पारित गर्नुपर्ने बताउनुभएको थियो ।

प्रतिक्रिया