ए डिभिजन लिग : एनआरटीको पहिलो जित, सातदोबाटोको पहिलो हार

पालिका डायरी
२५ मंसिर २०७८, १५:५२
ए डिभिजन लिग : एनआरटीको पहिलो जित, सातदोबाटोको पहिलो हार

 

काठमाडौं/ शहीद स्मारक ‘ए’ डिभिजन लिगमा न्युरोड टिम (एनआरटी) ले सातदोबाटो युथ क्लबलाई १–० गोलको नजितामा पराजित गरेसँगै सिजनको पहिलो जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगाशालामा सनिबार भएको पहिलो खेलमा एनआरटीकालागि ४६औं मिनेटमा मेसुकेको क्रसमा स्टेफेन समिरले बिनङ निर्णायक गोल गरे ।

पहिलो हाफको करिब पूरा समय रक्षापंक्तिमा व्यस्त भएको एनआरटीले दोस्रो हाफभर सातदोबाटोलाई दबाबमा राखेको थियो ।कप्तान मानबहादुर तामाङको क्रसमा फरवार्ड निरज चौधरीले १३ औं मिनेटमा हेडरमार्फत गरेको प्रहार एनआरटीका गोलकिपर अजित प्रजापतिले बचाएका थिए ।

सातदोबाटोका आकाश बुढा मगरले ३५औं मिनेटमा पेनाल्टी एरिया बाहिरबाट गरेको प्रहार क्रसबार माथिबाट बाहिरिएको थियो ।

एनआरटीका सरोज तामाङले ३९औं मिनेटमा १८ यार्ड बक्स भित्रबाट गरेको सशक्त प्रहार सातदोबाटोका डिफेन्डर पिटर सेगुनले उत्कृष्ट बचाउ गरेका थिए ।

पहिलो हाफको इन्ज्युरी समयमा सरोज तामाङले दायाँतर्फबाट दिएको क्रसमा एनआरटीका फरवार्ड समिरको हेडर प्रहार क्रसबार नजिकबाट बाहिरिएको थियो ।

६०औं मिनेटमा समिरले पेनाल्टी एरिया भित्रबाट गरेको सशत्तः प्रहार सातदोबाटोका गोलकिपर अभिषेक बरालले बचाएका थिए ।

एनआरटीका फरवार्ड दर्शन गुरुङविरुद्ध वान् भर्सेज वान्मा सातदोबाटोका गोलकिपर अभिषेकले ६५औं मिनेटमा उत्कृष्ट बचाउ गरेका थिए ।

पहिलो चरणमा फ्रेन्डस क्लबसँग बराबरी खेलेको सातदोबाटोले दोस्रो चरणमा थ्री–स्टार क्लबलाई १–० को नतिजामा पराजित गरेको थियो । यस्तै तेस्रो चरणको खेलमा एपीएफ क्लबलाई ४–१ को नतिजामा पराजित गरेको सातदोबाटोको यो पहिलो हार हो ।

यस्तै, पहिलो चरणमा मछिन्द्र फुटबल क्लबसँग २–१ ले पराजित भएको एनआरटीले दोस्रो चरणमा ब्रिगेड ब्वाइजसँग गोलरहित बराबरी खेलेको थियो । तेस्रो चरणमा पनि च्यासलसँग १–१ को बराबरी खेल्दै अंक बाँडेको थियो ।

जितसँगै एनआरटी ४ खेलबाट ५ अंक जोडेर तालिकाको सातौं स्थानमा उक्लिएको छ । सातदोबाटो भने समान खेलबाट ७ अंक जोडेर तेस्रो स्थानमा छ ।

प्रतिक्रिया