एमालेको केन्द्रीय कमिटी बैठक बस्दै, स्थायी कमिटी र पोलिटब्युरो गठन हुने

पालिका डायरी
२५ मंसिर २०७८, १०:१६
एमालेको केन्द्रीय कमिटी बैठक बस्दै, स्थायी कमिटी र पोलिटब्युरो गठन हुने

 

काठमाडौँ । नेकपा (एमाले)को केन्द्रीय कमिटीको आजदेखि सुरु हुँदै छ । भोलिसम्म दुई दिन चल्ने बैठकमा यसअघि महाधिवेशनका दाैरान मनोनीत भइआएका ३१ जना केन्द्रीय सदस्यहरुले सपथ ग्रहण समेत गर्ने जनाइएको छ ।

जर्मन हाउस हस्पिटालिटी गट्ठाघर भक्तपुरमा आज १ बजे सुरु हुने बैठक एमालेको १० औँ महाधिवेशनपछिको दोस्रो केन्द्रीय कमिटी बैठक हो । पहिलो बैठक महाधिवेशन सम्पन्न भएपछि यही मंसिर १४ गते चितवनमा बसेको थियो ।

आज र भोलिको बैठकले महाधिवेशनको समीक्षा गर्दै पोलिटब्युरो तथा स्थायी कमिटी गठन गर्ने भएको छ । साथै केन्द्रीय सल्लाहकार परिषद् गठन, कार्य विभाजनका कामहरु टुंगो लगाउने र प्रदेशहरुमा रिक्त रहेका पदाधिकारीको मनोनयन गर्ने कार्यसूची रहेको जनाइएको छ ।

९९ सदस्यीय पोलिटब्युरो र ४५ सदस्यीय स्थायी कमिटी गठन गरिने एमालेको विधानमा व्यवस्था छ । सोही अनुसार ती कमिटीहरु गठनका लागि बैठकमा छलफल हुनेछ ।

बैठकमा १५ वटा कार्यसूचीमाथि छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । एमालेको जिल्ला र प्रदेश अधिवेशनको मिति निर्धारण, विधान सम्पादन र नियमावली संशोधन, बैठक सञ्चालन कार्यविधि, केन्द्रीय कार्यालय व्यवस्थापन, महाधिवेशनको सन्देश तथा पार्टी प्रवेश अभियान, वरियताक्रम निर्धारण र जनसङ्गठनको सुदृढीकरण अभियान पनि बैठकका एजेण्डा रहेका छन् ।

आज बिहान ११ बजे केन्द्रीय कमिटीको बैठक बस्ने कार्यतालिका रहे पनि त्यसलाई १ बजेका लागि सारेर त्यसअघि ११ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सचिवालय बैठक बस्ने भएको तामाङले जानकारी दिनुभयो । सचिवालय बैठकले केन्द्रीय कमिटीमा लैजाने एजेण्डाको बारेमा छलफल गर्ने भएको छ

प्रतिक्रिया