पालिकाको चुनाव वैशाखभित्रै हुन्छ : प्रमुख निर्वाचन आयुक्त थपलिया

पालिका डायरी
२४ मंसिर २०७८, २०:३७
पालिकाको चुनाव वैशाखभित्रै हुन्छ : प्रमुख निर्वाचन आयुक्त थपलिया

 

सङ्खुवासभा/   निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पालिका तहको चुनाव आउँदो वैशाखभित्रै हुने बताउनुभएको छ ।

आज शुक्रवार सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले यस्तो बताउनुभएको हो । जिल्ला प्रशासन कार्यालय सङ्खुवासभामा आयोजित राजनीतिक दल, नागरिक समाज र पत्रकारहरू सहभागी अन्तरक्रिया कार्यक्रममा उहाँले यो जानकारी दिनुभएको हो ।

निर्वाचन आयोग चुनाव गराउने तयारीमा जुटिसकेको र त्यहीअनुसार पूर्वतयारीमा लागिरहेको थपलियाले बताउनुभयो । उहाँले पालिका तहको चुनाव देशभर नै एकै चरणमा, एकै दिन गराउने पूर्वतयारीमा आयोग जुटिरहेको बताउनुभयो ।

सङ्खुवासभामा सञ्चालन भइरहेको मतदाता नामावली सङ्कलन र व्यवस्थापनको विषयमा छलफल गर्न प्रमुख आयुक्त थपलिया यहाँ आउनुभएको हो । उहाँले भन्नुभयो, ‘स्थानीय तहको पाँच वर्षे पदावधि जेठ ५ गते सकिने र पदावधि सकिनभन्दा दुई महिना अगाडि चुनाव गराउनुपर्ने कानुनी व्यवस्था भएकाले २०७९ वैशााखसम्म चुनाव गराउने तयारी छ ।’

अहिले देशैभरि मतदाता नामावली सङ्कलन भइरहेकाले सबैले सहभागिता जनाउन उहाँले आग्रह गर्नुभयो ।

पालिका तहको चुनावलाई लक्षित गरी अहिले पुस २० गतेभित्र नामावली सङ्कलन भइरहेको छ । आफू बसेकै ठाउँमा नामावली दर्ता गराउन सकिने प्रमुख आयुक्त थपलियाले बताउनुभयो । यस वर्ष देशभर तीन सय १४ मतदान केन्द्र थप भएको समेत उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया