एमाले महाधिवेशन : आज अध्यक्ष पदका लागि चुनाव हुँदै, यस्तो छ निर्वाचन कार्यक्रम

पालिका डायरी
१३ मंसिर २०७८, ०८:१५
KP Sharma Oli and Bhim Rawal
भरतपुर /  नेकपा एमालेको १० औँ महाधिवेशनमा अन्ततः चुनाव हुने भएको छ । सौराहामा जारी बन्दसत्रमा केपी शर्मा ओलीले आफूलाई अध्यक्ष पदमा राख्दै सहमतिका लागि नयाँ नेतृत्वको नामावली घोषणा गरेका थिए । तर उनलाई चुनौती दिइरहेका भीम रावलले असहमति जनाएपछि अन्ततः अध्यक्ष पदका लागि निर्वाचन हुने भएको हो ।केन्द्रीय निर्वाचन आयोगले आज बिहान ८ बजेदेखि निर्वाचन कार्यक्रम शुरु हुने जनाएको छ । आयोगले संशोधनसहितको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

यसअघि गएराति नै मतदाता नामावली प्रकाशन गरिएको थियो । आज बिहान ८ बजेदेखि ९ः२० बजेसम्म उम्मेदवारलाई दरखास्त फारम वितरण गरिनेछ भने ८ बजेदेखि नै ९ः३० बजेसम्म उम्मेदवारी दर्ता गरिनेछ ।

यसैगरी बिहान १०ः३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिने र १०ः३० देखि १०ः४५ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिने आयोगले जनाएको छ ।

यदि कुनै उम्मेद्वारका विरुद्ध उजुरी परेमा बिहान १०ः५० बजेसम्म उक्त उजुरीउपर छानबिन र निर्णय हुनेछ । त्यसपछि ११ः५५ बजेदेखि १२ बजेसम्म उम्मेदवारलाई उम्मेदवारी फिर्ताको समय दिइनेछ, उक्त समयमा उम्मेद्वारहरुले उम्मेदवारी फिर्ता नलिएमा मध्याह्न १२ः५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने जनाइएको छ ।

सबै प्रक्रिया पूरा भएपछि राति ९ बजेदेखि बिहानको ३ बजेसम्म मतदान हुने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया