शेयर बजारमा पहिरो, नेप्सेमा ८० अंकले गिरावट

पालिका डायरी
१२ मंसिर २०७८, २०:५३

 

काठमाडौं/  मौद्रिक नीति समीक्षा पछि शेयर बजारमा थप पहिरो गएको छ ।

शुक्रबार मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा भएपछिको आज पहिलो कारोबारमा उच्च गिरावट आयो ।

बजार परिसूचक नेप्से एकै दिन ८० अंकले ओरालो लागेर २६ सय ५१ मा आएर थामियो ।

समीक्षामा बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपातको व्यवस्थामा केही लचलकता अपनाइए पनि मार्जिन लेण्डिङ सिमा भने यथावत नै गरिएसंगै लगानीकर्ता थप निराश भएको विश्लेषण गरिएको छ ।

यस दिन कारोबार भने केही बढेर ६ अर्ब नजिक पुग्यो । सबै समूह राताम्मे रहँदा जीवन बीमा समूहमा सबैभन्दा उच्च ५ सय ३७ अंकको गिरावट आयो ।

निर्जीबन बीमा समूह पनि ४ सय अंक हाराहारीले झर्यो । विकास बैंक समूहमा साढें २ सय अंक बढीको गिरावट आयो । उत्पादनमूलक समूह २ सय अंक बराबरले झर्यो ।

व्यापार, होटल तथा पर्यटन, जलविद्युत र लघुवित्त समूह पनि सय अंक बढीले ओरालो लागे । वित्त, अन्य र वाणिज्य बैंक समूह पनि दोहोरो अंकले ओर्लिए । यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय ३४ कम्पनीको १ करोड १९ लाख कित्ता शेयर ५ अर्ब ८४ करोड बराबरमा किनबेच भएको एक्चेन्जले जनाएको छ ।

प्रतिक्रिया