चार करोड भारुमा बिक्यो ‘प्रेम गीत ३’, तमिल र तेलुगू भाषामा पनि तयार हुदैँ

पालिका डायरी
२ मंसिर २०७८, १८:३४
चार करोड भारुमा बिक्यो ‘प्रेम गीत ३’, तमिल र तेलुगू भाषामा पनि तयार हुदैँ

 

काठमाडौं/ २०७६ सालको चैत २८ गते प्रदर्शनमा आउने तयारीमा थियो फिल्म ‘प्रेम गीत ३’ । निर्माण टिमले फिल्मको रिलिजलाई मध्यनजर गर्दै टिजर र गीत पनि सार्वजनिक गरिसकेको थियो । तर, कोरोनाका कारण सरकारले चैत ६ गतेबाट देशभरका सिनेमा हलहरु बन्द गर्ने निर्णय गरेपछि फिल्मको रिलिज स्थगन भयो । त्यसपछि निर्माण टिमले फिल्मको नयाँ प्रदर्शन मिति घोषणा गरेको छैन ।

लकडाउनकै समयमा निर्देशक तथा निर्माता सन्तोष सेनले फिल्मलाई भारतमा पनि प्रदर्शन गर्ने सोच बनाए । भारतका हलहरुमा फिल्म रिलिज गर्न उनले त्यहीँको भाषामा प्रख्यात डबिङ आर्टिस्टलाई लिएर फिल्मको डबिङ गरे । करीब एक वर्ष लामो मिहिनेत र दौडधुपपछि ‘प्रेमगीत ३’ हिन्दी भाषामा तयार भएको छ । साथै, फिल्मको भारतीय थिएटर (हल) राइट्स पनि बिक्री भएको छ ।

भारतको ‘इम्पोसिबल फिल्म्स्’ ले फिल्मको थिएटर राइट्स चार करोड आइसीमा खरिद गरेको निर्माता सेनले जानकारी दिए । यो एमजी बापतको रकम हो । फिल्मले भारतमा चार करोडभन्दा बढीको व्यापार गरेमा कम्पनीले ७० प्रतिशत लिएर निर्माता सेनलाई ३० प्रतिशत रकम उपलब्ध गराउनेछ । भारतका हलमा रिलिजका लागि फिल्मको नाम ‘संघार’ राखिएको सेनले जानकारी दिए ।

भारतीय थिएटर राइट्सबाट प्राप्त रकमले फिल्मको लगानी सुरक्षित भएको उनी बताउँछन् । उनका अनुसार, भारतमा फिल्मको डबिङ, सम्पादन लगायतको कार्यमा १ करोड आइसी खर्च भएको छ । यो फिल्म तमिल र तेलुगू भाषामा पनि तयार भइरहेको छ । नेपाल र भारतमा एकसाथ प्रदर्शन गर्ने सोचमा रहेका सन्तोष फिल्मको रिलिजबारे छलफल गर्न केही दिनमा भारत जाँदैछन् ।

छेतेन गुरुङ र सन्तोष सेनको निर्देशन रहेको यस फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, सुनिल थापा, माओत्से गुरुङ, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी लगायतको अभिनय छ । यो फिल्मबाट मनिष र क्रिस्टिनाले नायक(नायिकाको रुपमा डेब्यू गर्दैछिन् । फिल्मलाई राजेश श्रेष्ठले खिचेका हुन् ।

प्रतिक्रिया