पशुपति दयालसहितलाई पार्टीमा स्वागत गर्दै ओलीले भने- बाँके जिल्ला एमालेको किल्ला (तस्बिरहरू)

पालिका डायरी
१ मंसिर २०७८, १६:४७

 

रुपन्देही / लुम्बिनी प्रदेशको बाँकेका केही प्रभावशाली नेतासहित ठूलो संख्यामा नेता कार्यकता नेकपा एमालेमा प्रवेश गरेका छन् ।

स्वतन्त्र समूहका नेता पशुपति दयाल मिश्रसहितका ३ हजार ९ सय ४३ जना नेता कार्यकर्ता पार्टी प्रवेश गरेको एमाले नेता देवराज भारले जानकारी दिए । राजपाका पूर्वसहमहामन्त्री मिश्र २०७४ सालको संघीय सांसदको निर्वाचनमा स्वतन्त्र समूहको नाममा सूर्य चिन्हबाट प्रतिस्पर्धा गरेका थिए ।

राजनीतिकरूपमा बलियो पकड भएका मिश्र राजपाका इस्तिहाक राईसँग ५ हजार ६ सय मतको अन्तरले पराजित भएका थिए ।विभिन्न दलबाट एमाले रोजेका नेता-कार्यकर्तालाई स्वागत तथा नेपालगन्जमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली आफैं पुगेका थिए । उनले देशैभरी एमालेमा आउनेको लहर चलेको भन्दै आउँदो निर्वाचनमा एमाले पहिलो पार्टी बन्ने दाबी गरे । आज पार्टी प्रवेश गरेकालाई स्वागत गर्दै ओलीले बाँके जिल्ला एमालेको किल्ला बन्ने संकेतको रूपमा आजको कार्यक्रमलाई लिए ।

मिश्रसहित साविकको फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य अब्दुल करिम खान, साबिक तमलोपाका जिल्ला अध्यक्ष गिरिजाप्रसाद पाठक, नेता चिन्तु बर्मालगायतका नेता/कार्यकर्ता पार्टी प्रवेश गरेको एमाले केन्द्रीय सदस्य मो. हारुनले जानकारी दिए ।

प्रतिक्रिया