माधव नेपालको पत्रकार संगठन स्थापना नहुँदै भाँडभैलो !

पालिका डायरी
२७ कार्तिक २०७८, १९:३९
माधव नेपालको पत्रकार संगठन स्थापना नहुँदै भाँडभैलो !

 

काठमाडौं / माधवकुमार नेपालले नेतृत्व गरेको नेकपा (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठन नेपाल स्थापना नहुँदै विवादमा रुमल्लिएको छ ।

नेकपा एमालेनिकट पूर्व प्रेस चौतारी छाडेर आएका पत्रकारहरुले कनिष्ठलाई संगठनमा वरिष्ठ बनाएपछि विरोध गरेका छन् ।

संगठनमा कनिष्ठलाई वरिष्ठ बनाइएको भन्दै पूर्व प्रेस चौतारी छाडेर आएका विश्वमणि सुवेदी, नरेन्द्र साउद, रामकुमार एलन, जीवन बिसीहरुले विरोध गरेका छन् ।

शनिबार अध्यक्ष नेपालले उद्घाटन गरेको घोषणासभामा वरिष्ठ पत्रकार शम्भु श्रेष्ठको अध्यक्षतामा २१५ सदस्यीय केन्द्रीय समितिको घोषणा गरिएको छ ।

संगठनको संस्थापकमा रहेका विश्वमणि सुवदीले आफूहरुले संगठनको कार्यक्रम बहिष्कार नगरेको केवल व्यक्तिवादी एकाधिकारवादी हावी भएपछि आवाज उठाएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले भनेका छन्, ‘हामीले समाजवादी प्रेस संगठनको कार्यक्रम वहिष्कार गरेका छैनौं । व्यक्तिवादी एकाधिकारवाद हावी भयो । नेतृत्व चयन न्यायोचिन भएन । तसर्थ हामीले असहमति जनाएको मात्र हो । हामी यो विचार र आन्दोलनमा दृढ छौं ।’

त्यसैगरी सुवेदीपछि संस्थाप रामकुमार एलनले पनि साहित्यिक शब्दमाफर्त संगठन विस्तारको विरोध गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘ती सबै साथी, सहयोद्धा, सहकर्मी, सहयात्री अनि सदस्यहरुलाई सलाम । म पत्रकारितामै छु । यहाँसम्म आइपुगेँ आफ्नै हैसियतले । कहिलेकहीँ हुन्न सोचेजस्तो केही कैफियतले ।’

प्रतिक्रिया