कर तिर्नकै लागि एलन मस्कले बेचे टेस्लाको १ अर्ब डलरको सेयर

पालिका डायरी
२५ कार्तिक २०७८, ११:३६
कर तिर्नकै लागि एलन मस्कले बेचे टेस्लाको १ अर्ब डलरको सेयर

एजेन्सी/  विश्वका धनाढ्य एवं टेस्ला कम्पनीका मालिक एलन मस्कले १ अर्ब १० करोड डलर बराबरको टेस्लाको सेयर बिक्री गरेका छन् ।

आफ्ना ६ करोड ३० लाख ट्वीटर फलाेअरहरूसँग कर तिर्नका लागि टेस्लाको १० प्रतिशत सेयर बेच्दा के होला भनेर सोधेको केही दिनमै मस्कले सेयर बिक्री गरेका हुन् ।

ट्वीटर फ्लोअरहरूले सेयर बेच्न उपयुक्त हुने सल्लाह दिएका थिए भने त्यसको दुई दिनमा टेस्लाको सेयर १६ प्रतिशतले घटेको छ । सेयर बजारमा १ ट्रिलियन पुँजी रहेको टेस्ला विश्वकै मूल्यवान कार उत्पादक कम्पनी हो ।

एलन मस्कले ९ लाख ३० हजार कित्ता सेयर बिक्री गरेको खुलेको छ । तर, उक्त सेयर कित्ता उनको कुल सेयरको शून्य दशमलव ५ प्रतिशत मात्रै हो । मस्कले अहिले सेयर बिक्री गरे पनि उनले गत सेप्टेम्बरमै सेयर बिक्रीको प्रक्रिया सुरु गरेको पनि खुलेको छ ।

गत शनिबार मस्कले कर तिर्नका लागि शेयर बेच्ने प्रस्तावसहितको पोष्ट ट्वीटरमा राखेका थिए । ३५ लाख फ्लोअरले प्रतिक्रिया दिएको उक्त पोस्टमा ५८ प्रतिशतले सेयर बेच्न उपयुक्त हुने सुझाव दिएका थिए ।

मस्कसँग अहिले पनि टेस्लाको सेयर १७ लाख कित्ता रहेको छ जुन २ खर्ब ८० अर्ब डलर बराबरको सम्पति हो ।

प्रतिक्रिया