थाहा नगरपालिकामा निःशुल्क स्वास्थ्य बीमालाई निरन्तरता

पालिका डायरी
८ कार्तिक २०७८, २१:०६
थाहा नगरपालिकामा निःशुल्क स्वास्थ्य बीमालाई निरन्तरता

हेटौंडा/ थाहा नगरपालिकाले गत आर्थिक बर्ष २०७७/०७८ बाट सुरु गरको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमलाई चालु आर्थिक वर्ष २०७८/०७९ मा पनि निरन्तरता दिएको छ ।
थाहा नगरपालिकाले चालु आर्थिक बर्षको बजेटबाट निःशुल्क स्वास्थ्य बीमा सुरु गरेको छ । चालु आर्थिक बर्षको बजेटबाट सरकारले सुचिकृत गरेका ८ वटा रोगहरुको लागि निःशुल्क बीमा गरिदिन सुरु गरेको हो । जसमा क्यान्सर, मुटुरोग, मृगौला सम्बन्धी रोग, अल्जाइमर आदी रोगका बिरामीहरुलाई लक्षित गरी निःशुल्क स्वास्थ्य बीमा सुरु गरेको थाहा नगरपालिकाले जनाएको छ ।

उक्त नगरपालिकाका प्रमुख लवशेर बिष्टले नगर कार्यपालिकामा आयोजित एक कार्यक्रमका बीच स्वास्थ्य बीमा कार्ड वितरण गरेर यस बर्षको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेका हुन् । थाहा नगरले चालु आर्थिक बर्षका लागि नगरभरीका ३ सय जनालाई निःशुल्क स्वास्थ्य बीमा गर्ने लक्ष्य राखेको नगर प्रमुख बिष्टले बताए ।

यसअघि गत बर्ष पनि थाहानगरपालिकाका ३ सय जनाको निःशुल्क स्वास्थ्य बीमा गरिएको थाहानगरपालिकाका सूचना अधिकारी सुरजकुमार भुजेलले जानकारी दिए । स्वास्थ्य बीमाको लागि प्रत्येक वडाबाट प्राथमिकताको आधारमा २५ जनाको नाम सिफारिस गर्न वडा कार्यालयहरुलाई पत्रचार गरिएको थियो । वडा कार्यालयबाट आएको सिफारिसको आधारमा बीमा गरिएको नगर प्रमुख बिष्ट बताउँछन् ।
निःशुल्क स्वास्थ्य बीमाका लागि गत आर्थिक बर्षमा थाहानगरपालिकाले ११ लाख रुपैंया खर्च गरेको थियो भने चालु आर्थिक बर्षको लागि पनि ११ लाख रुपैंया वजेट पारित गरिसकेको छ । गत बर्ष विपन्न वर्गलाई लक्षित गरिएकोमा यस बर्ष भने विपन्नकोे साथै कडा रोगका बिरामीहरुलाई समेत लक्षित गरिएको नगरपालिकाले जनाएको छ ।

 

 

प्रतिक्रिया