भोटेलहराको बिरुवा जगाउने कोशिसमा अनुसन्धान केन्द्र

पालिका डायरी
४ कार्तिक २०७८, २१:२४

हेटौंडा ÷ मकवानपुरको बकैयामा असार महिनामा हरियो दाना लागेको बोट फेला परेका भोटेलहराकोे फल पाक्न थालेपछि वनस्पती अनुसन्धान केन्द्रमा ल्याएर बिरुवा उत्पादनको लागि अनुसन्धान सुरु गरिएको छ । वानस्पतिक अन्वेषण तथा सर्वेषणबाट नेपालको तनहुँ, संखुवासभा र मकवानपुरमा मात्र पाइने पत्ता लागेको थियो भोटेलहरा मकवानपुरको पनि विभिन्न ठाउँहरुमा गरिएको खोज पश्चात् केहि महिना अघि बकैया गाउँपालिकाको वडा नम्बर ११ मा रहेको सिमात खोलाको आसपास जंगलमा फेला परेको थियो ।
वनस्पती अनुसन्धान केन्द्र मकवानपुरका वरिष्ठ वैज्ञानिक अधिकृत रघुराम पराजुलीले पहिलो पटक मकवानपुरमा भोटेलहराको खोजी गरी फेला पार्न सफल भएका हुन् । उनको प्रयासका पछि विभिन्न योजनाहरु बनाएर फेला पारिएको भोटेलहराको संरक्षण गरी बिउ उत्पादन गर्न सुरु गरिएको हो ।
वनस्पती अनुसन्धान केन्द्र मकवानपुरका वरिष्ठ वैज्ञानिक अधिकृत पराजुलीले भोटेलहरा फेला पार्नेलाई पुरस्कृत गरिने निर्णय गरेर नै भोटेलहराको खोजीमा लागिपरेका थिए । ४ महिनादेखिको निरन्तर खोजको क्रममा पराजुलीले बकैया गाउँपालिकाको सेउले सामुदायिक वनमा उक्त भोटे लहरा फेला पारेका हुन् । पहिलो पटक आफु र आफ्नो समूहका अनुसन्धान टोलीले बकैयाको सिमात खोला आसपासमा भोटेलहराको बिरुवा फेला परेपछि त्यसको फलको लागि एउटा अभियान नै सञ्चालन गरेर भोटेलहराको फल खोजी कार्यले सफलता पाएको हो ।
पहिले बिरुवा मात्रै फेला परेको उक्त भोटेलहराको असार महिनामा बकैया गाउँपालिका वडा नम्बर ११ का २५ बर्षिय कृष्ण लामा र उनका २० बर्षिय भाई पासाङ लामाले लटरम्मै फलेको भोटेलहराको बोट भेटेका थिए । उक्त फल असोज महिनाको पहिलो हप्तातिर पाकेपछि बिरुवा उत्पादनको लागि अनुसन्धान गर्न वनस्पती अनुसन्धान केन्द्रमा ल्याइएको वनस्पती अनुसन्धान केन्द्र मकवानपुरका वरिष्ठ वैज्ञानिक अधिकृत पराजुलीले जानकारी दिए ।
आफूले अनुसन्धानकै क्रममा जस्ले पहिला भोटेलहराको बिरुवा भेट्न सकिन्छ, उसलाई पुरस्कारको व्यवस्था भनेर घोषणा गरेर नै खोजी कार्य अघि बढाएका थिए । तर आफैले पहिला विरुवा भेटेपछि पनि उनले अरु बिरुवा भेट्नेलाई पनि पुरस्कार दिने बताउँदै आएका थिए । भोटेलहराको खोजीकार्यमा जुट्ने, संरक्षणको लागि तत्परता देखाउने तथा बिउ उत्पादन सम्ममा साथ दिने स्थानीयहरुलाई आफुले सक्दो सहयोग स्वरुप पुरस्कृत समेत गरिएको पराजुली बताउँछन् ।
हाल वनस्पती अनुसन्धान केन्द्रमा भोटेलहराको बिरुवा उत्पादन गर्न अनुसन्धान थालिएको छ । बिरुवाबाट कटिड्ड गरेर नर्सरी गरिएकोमा बिरुवा उत्पादन हुन नसकेपछि उक्त पाकेको फलबाट बिउ निकालेर पोलिथिन गरेर बिरुवा उमार्न सकिन्छ कि भनेर अनुसन्धान भैरकेको वनस्पती अनुसन्धान केन्द्र मकवानपुरका वरिष्ठ वैज्ञानिक अधिकृत पराजुलीले जानकारी दिए । बिउ राखेको तीन हप्ता बितिसक्दा पनि बिरुवा नउम्रिएको कारण अझै अन्य विधिहरु समेत अपनाएर यसको व्यापक अनुसन्धान गरिने पराजुली बताउँछन् ।

वानस्पतिक अन्वेषण तथा सर्वेक्षणबाट नेपालको तनहुँ, संखुवासभा र मकवानपुरमा मात्र पाइने भनिए तापनि पछिल्लो समयमा मकवानपुरमा भोटेलहरा लोप भइसकेको अनुमान गरिएको थियो । पछिल्लोपटक मकवानपुरस्थित वनस्पति अनुसन्धान केन्द्रमा सरुवा भई आएका वरिष्ठ वैज्ञानिक अधिकृत रघुराम पराजुलीले खोजको क्रममा भोटेलहरा फेला पारेका हुन् । यो ताजा खोजले नेपालको प्रकृतिमा दुर्लभ भोटेलहरा छ भन्ने पुनः एकिन भएको छ ।

वनस्पति विभागबाट मकवानपुर सरुवा भएर आउनेवित्तिकै पराजुलीले मकवानपुरमा संकटापन्न वनस्पतिको रुपमा रहेको भोटेलहराको खोजी गर्नुपर्छ भन्ने सोच राखेका थिए । ‘वानस्पतिक अन्वेषण तथा सर्वेषणबाट नेपालको तनहुँ, संखुवासभा र मकवानपुरमा मात्र पाइने थाहा लागेको थियो, तर मकवानपुरमा वृन्दावन क्षेत्रमा पाइने भनिएको भोटेलहरा सो क्षेत्रमा नभेटिएपछि थप खोजी गर्न थालेको थिएँ’ उनले बताए । भोटेलहराको खोजीमा पराजुलीको साथमा वनस्पति अनुसन्धान कार्यालयका कर्मचारीहरुसमेत लापि परेका थिए ।

मकवानपुरको मनहरी, लोथर, फापरवारी, गढी, भैँसे, चुरियामाई, भिमफेदी लगायतका क्षेत्रमा खोजी गर्दा पनि नभेटिएपछि मकवानपुरबाटै लोप भएको होकि भन्ने शंका उब्जिरहेको बेला यात्राको क्रममा ठिङ्गनमा भोटेलहराको बोट भेटिएको पराजुलीले बताए । ‘कान्ति लोकपथ हुँदै काठमाडौँ जाँदै थिएँ, बकैया गाउँपालिका वडा नम्बर ११ को सिमात खोलाको पुलनजिक गाडी रोकेर २ सय मिटर जति भित्र खोजी गर्दा भोटेलहराको बोट भेटियो’ उनले खुशी हुँदै भने । भोटेलहराको बोट भेटिएपछि त्यसको सानो हाँगा लिएर राष्ट्रिय हर्वेरियम तथा वनस्पति प्रयोगशालाका लागि लगेको र सो क्रममा वनस्पति विभागका महानिर्देशकलाई समेत देखाएको उनले सुनाए ।

पराजुली काठमाण्डौँबाट फर्किएपछि सोही क्षेत्रमा गएर खोजी गर्दा अरु थप ७ बोट फेला परेका हुन् । पराजुलीलाई भोटेलहरा खोज्न बकैया गाउँपालिका वडा नम्बर ११ का वडा अध्यक्ष गोपालबहादुर नेसुर, सिउले सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष इन्द्रबहादुर स्याङ्तान र स्थानीय बासिन्दाले सहयोग गरेका थिए ।

 

प्रतिक्रिया