राष्ट्रिय फुटबल नेपाल फर्कियाे अल्मुताइरी कुवेत प्रस्थान

पालिका डायरी
१ कार्तिक २०७८, १६:०८
राष्ट्रिय फुटबल नेपाल फर्कियाे अल्मुताइरी कुवेत प्रस्थान

काठमाडौं ।  साफ च्याम्पियनसीपमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्यहरु स्वदेश फर्किएका छन् । नेपाली टिम साेमबार बिहान स्वदेश फर्किएका हुन् ।

माल्दिभ्समा आयोजना भएको प्रतियोगिताको फाइनलमा नेपाली टोली भारतसँग ३–० ले पराजित भएको थियो । साफ च्याम्पियनसीपमा नेपाल फाइनलसम्म पुगेको यो पहिलो अवसर थियो ।

खेलाडीहरूलाई स्वागत गर्न युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, एन्फा पदाधिकारी, परिवारका सदस्यहरु लगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

यता, राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी भने कुवेत प्रस्थान गरेका छन् । मुख्य प्रशिक्षक अल्मुताइरी माल्दिभ्सबाट कतार हुँदै घर फर्किएका हुन् ।

६ महिना भन्दा लामो समयदेखि राष्ट्रिय टोलीको प्रशिक्षणमा व्यस्त रहेका कारण आफूले केहि दिनको विश्राम चाहेको अलमुताइरीले बताएका थिए । उनले केहि दिनपछि मात्र नेपाली टोलीको प्रशिक्षकमा कायम रहने वा नरहने विषयमा निर्णय लिने बताएका थिए ।

प्रतिक्रिया