सामान्य जीविका गरेर हातमुख जोर्ने वर्गमा भित्रिएन दशैं, दशैंमा पनि कामै प्यारो

पालिका डायरी
२८ आश्विन २०७८, २१:४०
सामान्य जीविका गरेर हातमुख जोर्ने वर्गमा भित्रिएन दशैं, दशैंमा पनि कामै प्यारो

काठमाडौं, असोज २८ ।  दशैं घरपरिवार मिलेर दुःख सुख मनाउने पर्व । तर सानो व्यवसाय गरेर ज्यान पालिरहेको वर्गलाई दशैंले छोएको छैन । जीविकाको लागि श्रम गरिरहेका उनीहरुलाई मध्य दशैंमा पनि कामै प्यारो छ ।

काठमाडौंलाई कर्मथलो बनाएका लाखौं बाहिरिएका छन् । यहीँ बसेकाहरु पनि घरमा बसेर औकात अनुसारको पर्व मनाइरहेका छन् । तर ज्यालमजदुरीमा चल्ने र सामान्य व्यवसाय गरेर जीविका गर्नेको संसार नै अलग छ । काम गर्न छोड्यो भने मुखमा माड नलाग्ने चिन्ताले यो वर्ग दशैंमा पनि काममै रमाइरहेको छ । घरपरिवारसँग बस्ने रहर नभएको त कहाँ हो र ? तर बाध्यताको कारिन्दा बन्न बाध्य छन् । ट्याक्सी चालक कान्छा लामा केहि पैसा कमाई हुन्छ भनेर काठमाडौंमै बसेका हुन तर काम पाउनै कठिन भएको बताउछन् ।

केही रकम जोहो गरी तिहार भने आफनै परिवारजन संगको मनाउने उनको धोको छ । त्यसो त बाटोको किनारमा यी बृद्धाले आफनो दैनिकी चलाउन बिगत २० बर्षदेखि यसरी नै सानो तिनो पसल थापेर गुजारा चलाउँदै आएकी छिन् । कामविना घरमा बस्नु उनका लागि पट्याइलाग्दो हुन्छ ।

राजधानीको भित्री शहरमा रिक्सा चलाएर जीविका चलाउनेको अवस्था उस्तै छ । उनीहरु दशैंमा पनि ग्राहक पर्खिएर बसिरहेका छन । रिक्सा चालकमात्र होइन विभिन्न पेशा अंगाल्दै आएका अन्य व्यवसायी पनि उपभोक्ता पर्खिएर बसेका छन् । तर ब्यापार नभएको दुखेसो पोख्छन् ।

दशैंमा व्यवसाय गर्न सके थोरै पनि जीविकालाई मद्दत पुग्ने आशा बोकेका यिनीहरुको मन न चाडपर्वले रमाएको छ , न त व्यापारले नै राहत दिएको छ ।

प्रतिक्रिया