अभिभावक कारागारमा : दशैं आएसँगै पीडामा परिवार

पालिका डायरी
२८ आश्विन २०७८, १९:५२
अभिभावक कारागारमा : दशैं आएसँगै पीडामा परिवार

 हेटौंडा/हिन्दुहरुको महान पर्व दशैंको सुरुवात भैसकेको छ । बजारमा किनमेल गर्नेको चहलपहलले बजार क्षेत्रहरु गुल्जार बनेका छन् भने गाउँघरमा पनि बाहिर रहेका परिवारहरुका सदस्यहरु घर फर्कने, दशैंको लागि आवश्यक किनमेल गर्ने लगायतका कार्यहरु जुट्न थालिसकेका छन् । परदेशमा रहेका नेपालीहरु पनि आफ्नो कामको समय सकिएका तथा बिदा लिएर पनि स्वदेश फर्किन थालिसकेका छन् । तर दशैं सुरु भैसक्दा पनि नेपालमै रहेका आफ्ना आफन्तसँग दशैं मनाउन नपाउनेहरुको पीडा अलग्गै छ ।
मकवानपुरको राक्सिराङ्ग गाउँपालिका र कैलाश गाउँपालिकाका अधिकांश परिवारहरुलाई दशैं नजिकिए सँगै परिवारको अभिभावक साथमा नहुँदाको पीडाले मन पोल्न थालिसकेको छ । न परदेशमा धन कमाउन गएका हुन् । नत काम धन्नाले फुर्सद नपाएर नै परिवार एकै ठाउँमा भेला हुन नपाएका हुन् । परिवारका सदस्यहरुलाई अभिभावक बिनाको दशैं नरमाइलो, आफ्नो परिवारलाई सम्झँदै बन्द कोठामा रुदैं बस्नुपर्दा अभिभावकलाई झनै नरमाइलो त लाग्ने नै भयो ।
जिल्लाको राक्सिराङ्ग गाउँपालिका र कैलाश गाउपालिकाका अधिकांश घरपरिवारका घरमुली कारागारमा जीवन बिताइरहेका छन् । गरिखाने खेतीयोग्य जमिनको कमि, जमिन भएपनि सिंचाईको असुविधा तथा रोजगारीको लागि पढाई नभएपछि गाँजा बोक्ने भरिया बन्नुको विकल्प छैन । घरमा धेरै जना छोराछोरी, उनीहरुलाई शिक्षा दिक्षा दिनुपर्ने जिम्मेवारी तथा पालनपोषणकै लागि भएपनि बाध्यताको पेशा बनिरहेको गाँजा खेती तथा ओसारपसारमा संलग्न हुनुपर्दा दुई पालिकाका घरमुलीहरु काराकारको जीवन बिताइरहेका छन् । लागुऔषध कारोबारमा नै पक्राउ परेका दम्पती नै पनि कारागारको जीवन बिताइरहेका छन् ।

अरु बेलामा भन्दा पनि महान पर्व वडादशैं नजिकिए सँगै परिवारका सबै सदस्य एकैठाउँमा बसेर मनाउने रहर भएपनि सोचेजस्तो नहुने कैलाश १ का २४ बर्षिय राजु थापामगर (नाम परिवर्तन) बताउँछन् । प्रायः घरका मुली अर्थात बुवाहरु विरलै मात्रै भेटिने गरेको कैलाशमा दशंैको बेला सबैलाई झनै नरमाइलो लाग्ने गरेको उनी बताउँछन् ।
कैलाश गाउँपालिका वडा नम्बर १ का ५१ बर्षिय अम्बरबहादुर थापामगर विगत साँढे ४ बर्षदेखि विरगञ्ज कारागारमा लागूऔषध कारोबारको सजाय भोगिरहेका छन् । २०७३ सालमा अफिम ओसारपसारमा संलग्न भएको आरोपमा थापामगर पक्राउ परेका थिए । कैलाश गाउँपालिकाको डाडाँखर्क मा घर भएका उनी खेतिपाति गरेर नै जीवन धान्दै आइरहेका थिए । पेशाले किसान उनलाई घर व्यवहार धान्नको लागि समस्या हुँदै गएपछि थापामगर कुनै काम गरेर पैसा कमाउन चाहान्थे । तर पढाई, सिप तथा श्रोतको कमिका कारण गाँजा तस्करमा संलग्न हुन पुगेको अम्बरबहादुरको छोरा २३ बर्षिय राजु (नाम परिर्वन) ले बताए ।
उनी त एक प्रतिनिधी पात्र मात्रै हुन् । उनी जस्तै दर्जनौं परिवारका अभिभावकहरु देशका विभिन्न कारागारमा बस्न बाध्य छन् । धनको आशमा गाँजाको भरिया बन्दै बजार झर्नेहरु प्रहरीको फन्दामा पर्दा राक्सिराङ्गका पीडित बासिन्दाहरुको परिवारमा थप पिडा थपिने गरेको छ । अभिभावक बिनाको दशैं मनाउनु कि नमनाउनु भएको अधिकांश पीडित परिवारहले पीडा सुनाउने गरेका छन् ।
अम्बर बहादुरलाई प्रहरीले पक्राउ गरेपछि घरको जिम्बेवारी उनकी श्रीमती निरमाया थापामगर र छोरा राजुको को काँधमा थुप्रिएको छ । घरको आवश्यकताहरु टार्ने देखि परिवारको हेरबिचार सम्ममा पनि आफैै लागिपर्नु परेको छ । दशैं सुरु भएपछि झन् धेरै श्रीमानको यादले सताउने गरेको निरमाया बताउँछिन् । ‘यो बर्षको दशैंले ३ वटा दशैं हुन्छ सँगै मान्न नपाएको । अरु समयमा भन्दा पनि चाडपर्वको बेला एकदमै याद आउने रहेछ,’ उनले भनिन् ।
साना छोराछोरी घरमा भएका परिवारको मुख्य सदस्य कारागारमा जीवन बिताउन बाध्य हुन्छन् । तर यसलाई कसरी कम गर्ने भन्ने तर्फ सरकारको ध्यान जान नसकेको होकी भन्ने केही सरोकारवालाहरुले आंकलन गरेका छन् ।
गाउँबाट भरियाको रुपमा लागूऔषध बोक्ने स्थानीय प्रहरीको फन्दामा बर्षौ देखि कारागारमा बस्न बाध्य छन् । नत निक्लन सक्ने राजनिति पावर हुन्छ । न त पैसाको पावर । मुख्य कारोबारीहरु निर्वाद रुपमा हिडिरहेका हुन्छन् । तर केही हत सम्म निर्दोष रहेका मानिसहरु काराकारको बसाँई झेल्न बाध्य छन् । भरियालाई कारबाही मुख्य कारोबारीलाई छुट भैरहेको छ भन्ने पिडित परिवारहरुले चिन्ता व्यक्त गरेको पाइएको छ ।
जिल्लाको राक्सिराङ्ग गाउँपालिका र कैलाश गाउँपालिकाका मानिसहरु लागूऔषध कारोबारमा पक्राउ पर्ने गरेका छन् । मकवानपुरको कैलाश र राक्सिराङ्ग गाउँपालिका भन्ने बित्तिकै गाँजा खेती हुने ठाउँ भनेर समेत चिनिन थालेको पाइन्छ । तर गाँजा कारोबार रोक्ने उदेश्यले मकवानपुर प्रहरीले बेला बेलामा गाँजा फडानी गर्दै आइरहेको छ । तर पनि लागूऔषध कारोबार निर्मुल पार्न नसक्नु यहाँका बासिन्दाहरुको मजबुरी रहेको केही स्थानियबासीहरुले बताएका छन् ।

प्रतिक्रिया