प्रतिनिधि सभाको बैठकमा आज पनि एमालेको अवरोध, नाराबाजीकै बीच वार्षिक प्रतिवेदन पेश

पालिका डायरी
१९ आश्विन २०७८, १४:१५
प्रतिनिधि सभाको बैठकमा आज पनि एमालेको अवरोध, नाराबाजीकै बीच वार्षिक प्रतिवेदन पेश

काठमाडौं ।  नेकपा एमालेका सांसदहरुले आज (मंगलबार) पनि प्रतिनिधि सभा बैठक अवरोध गरेका छन् ।

मंगलबार दिउँसो १ बजे बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सदनको कारवाही सुरु भएको जानकारी गराउने बित्तिकै एमालेका सांसदहरुले नाराबाजी गरेका थिए ।

सभामुख सापकोटाले भने सभा नियमित प्रक्रियामा प्रवेश गरेर आफ्नो कुरा अनुरोध गनुभयो । सभामुख सापकोटाले पटकपटक सभाको बैठक सुचारु गर्न दिनका लागि आग्रह गरेपनि एमाले सांसदहरुले नाराबाजी गरिरहे ।

उनीहरुले ‘कालो धन हामीलाई चाहिँदैन, देश लुट्न पाइँदैन’ लगायतका नाराहरु लगाएका थिए । एमालेले गत भदौ २३ गतेदेखि सुरु भएको नवौं अधिवेशनदेखि प्रतिनिधि सभाको बैठकमा नाराबाजी गरिरहेको छ ।

एमालेको अवरोधका बीच सभामुख सापकोटाले कानून न्याय तथा संसदीय व्यवस्था मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन २०७६/७७ को प्रस्तुत गर्न समय दिनुभयो ।

कार्कीले सो प्रतिवेदन पेश गरेसँगै ८ मिनेट बसेर सकिएको प्रतिनिधि सभाको अर्को बैठक असोज २२ गते शुक्रबार दिउँसो १ बजेका लागि तोकिएको छ ।

प्रतिक्रिया