संखुवासभाको सामूहिक हत्याकाण्डमा संलग्नलाई थुनामा राख्न अदालतको आदेश

सङ्खुवासभा । सङ्खुवासभाको मादी नगरपालिकामा भएको सामूहिक हत्यामा संलग्न सबै अभियुक्तहरुलाई थुनामा राख्न जिल्ला अदालत चैनपुरले आदेश दिएको छ ।
अदालतले हत्यामा संलग्न अभियुक्तहरु खड्गबहादुर कार्की, लोकबहादुर कार्की, रणबहादुर कार्की र हस्तबहादुर कार्कीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
अदालतको आदेशमा सबै अभियुक्तहरुलाई पुर्पक्षका लागि कारागार कार्यालय खाँदबारी र अभियुक्त लोकबहादुरका १७ वर्षीय भाई नरेश कार्की बालक भएको ठहर गर्दै उनलाई बाल सुधार गृह बिराटनगर पठाउन भनिएको छ ।
गत भदौ २१ गते बिहान मादी नगरपालिका वडा नं. १ उम्लिङस्थित खोला गाउँमा कार्की परिवारका ६ जनाको सामूहिक हत्या भएको थियो ।
घटना घटेको केही समयपछि लोकबहादुर कार्की पक्राउ परेका थिए । सुरुमा घटनाका योजनाकार उनी आफैँ रहेको प्रहरीको निष्कर्ष थियो । तर, पछि मृतक रञ्जना कार्कीको हराएको मोबाइल फोनले बाँकी अभियुक्तहरु पक्रन प्रहरी सफल भएको थियो ।
घटनामा घरमुली तेजबहादुर कार्की, उनकी आमा पार्वती कार्की, श्रीमति कमला, बुहारी रञ्जना कार्की, नाती दिपेन कार्की र नातीनी गोमा कार्कीको विभत्स हत्या गरिएको थियो ।