भक्तपुरका मासु पसल अनुगमन : न्यूनतम मापदण्डसमेत पालना भएन

पालिका डायरी
१८ आश्विन २०७८, २१:१९
भक्तपुरका मासु पसल अनुगमन : न्यूनतम मापदण्डसमेत पालना भएन

भक्तपुर – दशैँ नजिकिँदै गर्दा भक्तपुर नगरपालिका अनुगमन समितिले आज साेमवार गरेको मासु पसल अनुगमनमा धेरैजसाे अवैध र फोहर रहेको पाइएको छ ।

समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा ब्रम्हायणी र तुमचो दुगुरे आवास क्षेत्रमा रहेका मासु पसलको अनुगमन गर्दा यहाँका सबै मासु पसल दर्ता नै नगरि अवैध रूपमा सञ्चालन गरेको पाइएको छ । धेरैजसाे मासु पसलमा फोहर, झिँगा भन्किएको, मासु सफा गर्ने ठाउँ नै फोहर रहेको, फोहर पानीले मासु पखालेको, फ्रिज सफा नगरेको पाइएको छ ।

त्यस्तै सरसफाइमा ध्यान नदिएको, भुइँ, भित्ता सजिलै सफा गर्न मिल्ने गरी मार्बल वा टायल नराखेको, तराजु दर्ता तथा नवीकरण नगरेको, मासु सफा गरेको पानी सजिलै जान सक्ने व्यवस्था नभएको, सेतो एप्रोनको प्रयोग नगरेको, मासु काट्ने औजार र भाँडा नराखेको पाइएको निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिनुभयो ।

बजार अनुगमन गर्दा मासु पसलले न्यूनतम मापदण्डसमेत पालना नगरेको पाइएको छ । अनुगमन टोलीले एलिया मिट शप, महिमा कोल्ड स्टोर, नवदुर्गा मिट शप, बज्रयोगिनी मासु पसल, न्यू काभ्रेली मिट शप, विनायक मिट शप लगायतका मासु पसलमा यस्ता समस्या भेटिएकाले सबै मापदण्ड पूरा गर्न सचेत गराइएको छ ।

दर्ता नभएकालाई अनुगमनकै क्रममा दर्ता गराइएको छ । पसल दर्ता गर्न नमान्ने बज्रयोगिनी मासु पसल, न्यू काभ्रेली मिट शपको तराजु एक/एक थान जफत गरी कार्यालयमा तीन दिनभित्र उपस्थित हुन निर्देशन दिइएको प्रजापतिले जानकारी दिनुभयो ।

प्रतिक्रिया