हेटौंडा–१३ पदमपोखरीको महिला मिलनको २१ औँ साधारण सभा

पालिका डायरी
१ आश्विन २०७८, ११:०२
हेटौंडा–१३ पदमपोखरीको महिला मिलनको २१ औँ साधारण सभा

हेटौंडा/ हेटौंडा १३ पदमपोखरीमा रहेको महिला मिलन बचत तथा ऋण सहकारी संस्थाको बिहीबार २१ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

संस्थाको अध्यक्ष विष्णुमाया लामाको सभाध्यक्षतामा भएको कार्यक्रम हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कोरोनाको जोखिम अझै कायम रहेको कारण शेयर सदस्यहरु जुम मार्फत सहभागी गराईएको थियो भने समिति र उपसमितिहरुको मात्र भौतिक उपस्थितीमा कार्यक्रम भएको हो ।

कार्यक्रममा मन्तव्यको क्रममा उपमेयर लामाले ठुलो संख्यामा महिलालाई समेटेर सहकारी संचालन गरेकोमा खुसि व्यक्त गर्नु भएको छ । त्यसैगरि ऋणको कारोबार मात्र भन्दा पनि महिलाहरुलाई उत्पादनसँग जोड्न सहकारीले भुमिका खेल्नु पर्नेमा जोड दिनु भयो । मन्तव्यकै क्रममा सहकारीको संस्थापक अध्यक्ष सुकुमाया थिङले सुन्य अवस्थाबाट धेरै संघर्ष गर्दै सुरु गरेको संस्था अहिलो अवस्थामा देख्न पाउँदा धेरै खुसी भएको बताउनुभयो ।

संस्थाले अहिले शेयरसदस्यलाई ४० लाखसम्म ऋण लगानी गर्दै आएको छ । हाल सहकारीमा पाँच हजार दुई सय ७८ जना शेयर सदस्य आबद्ध रहेका छन । सहकारीले गत वर्ष ५६ करोड ७ लाख ६ हजार कारोबार गर्दै १ करोड १७ लाख ३४ हजार नाफा गर्न सफल भएको छ । यस्तै आगामी आर्थिक वर्षमा ६२ करोड कारोबार गर्ने र १ करोड ३९ लाख नाफा गर्ने लक्ष्य राखेको महिला मिलन सहकारीकी अध्यक्ष विष्णुमाया लामाले बताउनुभयो ।

सहकारीले आफ्नो वार्षिक साधारणसभामा कर्मचारी दिपेश अधिकारीलाई सम्मान गरेको छ । यस्तै शेयर सदस्यहरु तिर्थ कुमारी नेपाल, शान्ति माया हिम्डुङ र हिरामाया वाइबालाई सम्मान गरेको छ । त्यस्तै पत्रकार निशा गुरुङलाई पनि सहकारीले सम्मान गरेको छ । कार्यक्रममा जिल्ला सहकारी संघका सह–सचिव बिजय कुमार बस्नेत, हेटौंडा–१२ का वडाअध्यक्ष ललित घलान, हेटौंडा–१३ को वडाअध्यक्ष मनोज वाइबा लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया