ग्रामिण महिला सेवा केन्द्र मकवानपुरको २० औं वार्षिक साधारणसभा

पालिका डायरी
१ आश्विन २०७८, १०:४६
ग्रामिण महिला सेवा केन्द्र मकवानपुरको २० औं वार्षिक साधारणसभा

हेटौंडा । ग्रामिण महिला सेवा केन्द्र मकवानपुरको २० औं वार्षिक साधारणसभा आज हेटौंडामा भएको छ । साधारणसभाको उद्घाटन् गर्दै हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले यस संस्थासंग विकट क्षेत्रमा सहकार्य गरेर काम गर्न तयार रहेको वताउनुभयो ।

हेटौंडाका पछी थपीएका वडामा अहिले पनि सामान्य पूर्वाधारको समस्या, जनचेतनाको अभाबका समस्याहरु रहेको वताउँदै मेयर महतले बिकट क्षेत्रका नागरिकको शिक्षामा जोड दिनेगरी सहकार्य गरेर काम गर्न तयार रहेको वताउनुभयो । शिक्षा र स्वास्थ्य समेत नपुगेको स्थानका नागरिकलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न लागिपरेको वताउनुभयो ।

केन्द्रका अध्यक्ष उर्मिला कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा भीमफेदी गाउँपालिकाका उपाध्यक्ष पार्वती राना, नेपाल पत्रकार महासंघ मकवानपुरका निवर्तमान अध्यक्ष हरि हुमागाई, संस्थाका पूर्व अध्यक्ष सर्मिला श्रेष्ठ, लक्ष्मी मोक्तान, संस्थाका उपाध्यक्ष मेनुका दाहाल, जनचेतना बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जानुका दुवाडी लगायतकाको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा अध्यक्ष कार्कीले संस्थाको तर्फबाट संस्थागत भनाई व्यक्त गर्नुहुँदै ग्रामिण महिला सेवा केन्द्र मकवानपुरले हालसम्म २३ हजार महिलाहरुलाई सेवा प्रदान गरेको बताउनुभएको छ । जिल्लामा ४१ वटा महिला सहकारीका २ हजार ३ सय महिला समुहमा आबद्ध रहेका २३ हजार महिलाहरुसँग प्रत्यक्ष रुपमा काम गरी महिलाहरुको सामाजिक, आर्थिक, शैक्षिक, राजनैतिक सशक्तिकरणको क्षेत्रमा भुमिका निर्वाह गरेको उहाँले जानकारी दिनुभयो ।

संस्थाले तत्कालिन ३८ वटा गाविसहरुमा महिला सहकारीको माध्यमबाट महिला, बालबालिका, दलित, जनजाति, तथा पछाडी पारीएका जानजातिहरुको सामाजिक, आर्थिक, राजनैतिक तथा वातावरणिय सशक्तिकरणको क्षेत्रमा काम गर्दै आएको पनि अध्यक्ष कार्कीले बताउनुभयो । जसअन्तर्गत हाल जिल्लाका बागमती, मनहरी र मकवानपुरगढी गरी ३ वटा गाउँपालिका तथा हेटौंडा उपमहानगरपालिकामा प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा ‘नेतृत्व र निर्णय’ कार्यक्रम गरिरहेको उहाँको भनाई छ ।

प्रतिक्रिया