प्रतिनिधि सभा विघटनपछि आत्महत्या गर्ने कि लड्ने भन्ने अवस्थामा पुगेकाे थिएँ : अध्यक्ष दाहाल

पालिका डायरी
१४ आश्विन २०७८, २०:३५
प्रतिनिधि सभा विघटनपछि आत्महत्या गर्ने कि लड्ने भन्ने अवस्थामा पुगेकाे थिएँ : अध्यक्ष दाहाल file photo

काठमाण्डाै  / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगतमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा रहँदा तत्कालीन पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीसँगको लडाइँ जीवन मरणको लडाइँ रहेकाे बताउनुभएकाे छ । आज बिहीवार अखिल क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पुस ५ काे प्रतिनिधि सभा विघटनपछि यस्ताे निर्णयमा पुगेकाे बताउनुभएकाे हाे ।

त्यतिखेर आफू आत्महत्या गर्ने कि लडाइँ लड्ने भन्ने अवस्थामा रहेको भन्दै उहाँले जोखिम उठाएर क्रान्तिकारी ढङ्गले लड्ने सङ्कल्प साथ लडेको उल्लेख गर्नुभयो । उहाँले केपी ओलीमाथि विजय प्राप्त गरेको पनि बताउनुभो ।

अध्यक्ष दाहालले भन्नुभयो, ‘मेरो अगाडि अब फेरी लडाइँ गर्ने कि, आत्मसमर्पण त मैले गर्न सक्दिनँ । गर्न हुँदैन । हजारौँ शहीद, हजारौँ बेपत्ता योद्धा, घाइते, अपाङ्गता भएकाकाे सबै ऋण त मुख्य रूपमा मेरो टाउकोमा छ । या त मैले सकिनँ यत्ति नै रहेछ भनेर सुसाइड गर्नुपर्ने । सुसाइड सबै नराम्रो मात्रै हुँदैन है साथी हो । मार्क्सकाे ज्वाइँ छोरी सबैले सुसाइड गरेको कथा सायद तपाईँहरूले पढ्नुभएको होला । सबै सुसाइड गलतै हुन्छ भन्ने हुँदैन । या त लड्नुपर्ने । अब लड्ने कि मर्ने ? फेरि पनि मृत्यु या मुक्तिको ठाउँमा पुगेको देखेँ मैले । पार्टीभित्र पनि र पार्टीबाहिर पनि । र अन्तिममा पार्टीभित्रका सबै साथीहरूको सहयोगबाट हामी फेरि लड्ने क्रान्तिकारी ढङ्गले लड्ने, पूरा जोखिम उठाएर लड्ने, जेल जानुपर्छ भने जाने, मारिनुपर्छ भने पनि तयार हुने । तर प्रतिक्रान्ति र प्रतिगमनको अगाडि हरहालतमा नझुक्ने भन्ने हामीले सङ्कल्प गरियो । त्यही सङ्कल्पबाट सुरु भयो सडक आन्दोलन । ’

कार्यक्रममा बाेल्दै प्रचण्डले पार्टीको क्रान्तिकारी चरित्र र क्रान्तिकारी कार्यशैलीमा ह्रास आएको पनि बताउनुभयाे । विगतमा सामाजिक रूपान्तरण, क्रान्ति र परिवर्तनको निम्ति काम गर्ने पार्टी नेता तथा कार्यकर्ताहरूको कार्यशैलीमा स्खलन भएको उहाँले बताउनुभयो । पार्टीका नेताहरू पद, प्रतिष्ठा, पैसा र कमिसनको निम्ति मरिहत्ते गर्ने भन्दै उहाँले पार्टीभित्र अवसरवादी चरित्र मौलाएको बताउनुभयो । जो नेता जति धेरै माथि भयो उति धेरै स्खलित भएको उहाँको भनाइ थियाे ।

अध्यक्ष प्रचण्डले युवा तथा विद्यार्थीहरूलाई विकृति र विसङ्गतिका विरुद्ध तथा प्रतिगमन र प्रतिक्रान्तिको विरुद्ध आक्रामक ढङ्गले प्रस्तुत हुन निर्देशनसमेत दिनुभयो ।

प्रतिक्रिया