१५ औं विश्व रेबिज दिवस मनाइँदै : जिल्लामा रेबिजको छैन तथ्यांक

पालिका डायरी
१२ आश्विन २०७८, ११:४०
१५ औं विश्व रेबिज दिवस मनाइँदै : जिल्लामा रेबिजको छैन तथ्यांक

सुनिता बिष्ट

मकवानपुर   /  आज विश्व रेबिज दिवस, मकवानपुरमा पनि विभिन्न कार्यक्रमहरु गरेर मनाइँदै छ । तथ्य ‘बुझौंः त्रसित नहोऔं’ भन्ने मुल नाराको साथमा जिल्लामा १५ औं रेबिज विरुद्धको दिवस मनाउन लागिएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, मकवानपुरका वरिष्ठ पशु चिकित्सक सुसिल कुमार केसीले जानकारी दिए ।

केन्द्रका अनुसार १५ औँ रेविज दिवसको अवसरमा असोज १० गते आइतबार देखि नै भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा घरपालुवा तथा सडकका छाडा कुकुरलाई निःशुल्क रेविज बिरुद्धको खोप लगारहेको छ । बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म त्यस्ता जनावरहरु ल्याएर खोप लगाई रेविजबाट बच्न तथा बचाउन सबैमा अनुरोध गरेको बताउँदै पशु चिकित्सक केसीले कार्यालयमा पनि रेबिज विरुद्धको खोप लगाएको र जिल्लाका सबै स्थानीय निकायहरुले पनि यो अभियानहरु सञ्चालन गरिरहेको जानकारी दिए ।
भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, मकवानपुरले रेबिज विरुद्धको खोप सप्ताह कार्यक्रम अन्र्तगत २ सय डोज रेबिज विरुद्धको खोप लगाउने लक्ष्य लिए पनि सोमबार सम्ममा जम्मा १४ डोज मात्रै खोप लगाइएको कार्यालयले जनाएको छ । ६ गते देखि सञ्चालन गरिएको रेबिज विरुद्धको खोप आज सम्म सप्ताहको रुपमा लगाइने र बाँकी डोज खोप निरन्तर रुपमा लगाइने पशु चिकित्सक केसीले बताए ।
जिल्लामा हाल कति कुकुरहरुमा रेबिज छ भन्ने एकिन तथ्यांक नभएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्दमा एकिन तथ्यांक भने राख्न नसकिएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, मकवानपुरका पशु शाखा अधिकृत तथा पशु चिकित्सक आभाष कोइराला बताउँछन् । त्यती मात्रै होइन रेविज लागेको कुकुर तथा अन्य जनावरबाट जिल्लामा कति व्यक्तिमा रेविज रोग लाग्यो भन्ने पनि तथ्यांक राख्न नसकिएको कोइरालाले बताए । रेबिज सम्बन्धि रोगको उपचार काठमाण्डौंको त्रिपुरेश्वर अस्पतालमा मात्रै हुने गरेको कारण जिल्लामा त्यस्ता तथ्यांकहरु नै राख्न सकिएको छैन, उनले भने ।

कोइरालाका अनुसार भेटेनरी अस्पतालमा गत आर्थिक बर्ष २०७७÷०७८ मा ८ वटा मात्रैको रेबिजको परिक्षण गरिएको तथ्यांक रहेको छ । तर रेबिज विरुद्धको खोप भने अघिल्लो बर्ष ५ सय डोज खपत गरेर लगाइएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, मकवानपुरले जनाएको छ ।

के हो रेबिज ?

रेबिज लिसा नामको स्नायु नसामा प्रभाव पार्ने आर एन ए भाइरसका कारणले हुने रोग हो । यो रोग संक्रमित जनावरको ¥यालबाट घाउको बाटो हुँदै शरीरभित्र छिरेर स्नायु नशाको माध्यमले मस्तिष्कसम्म पुग्ने गर्छ ।
रेबिज विरुद्धको खोप विकास गरेका फ्रान्सेली रसायनशास्त्री तथा माइक्रोबायोलोजिस्ट लूयस पास्टरको निधन भएको दिनको स्मृतिमा रहेक वर्ष सेप्टेम्बर २८ मा यो दिवस मनाउने गरिन्छ । विश्वमा हरेक वर्ष करिब ६० हजार मानिसको ज्यान जाने गरेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । रेबिजका कारण ज्यान गुमाउनेमा आधा भन्दा बढी बालबालिका रहने गरेका छन् । विश्वमा हुने रेबिजको समस्या मध्ये ९५ प्रतिशत एसिया र अफ्रिकामा हुने गरेको छ ।

रेविज विरुद्व पहिलो पटक प्रभावकारी खोपको विकास गर्ने वैज्ञानिक लुईस पाश्चरको निधन भएको दिन सेप्टेम्बर २८ मा उनको योगदानलाई स्मरण गर्दै हरेक वर्ष रेविज दिवस मनाउने गरिएको छ । रेविज रोग, रेविज लागेका कुकुर, स्याल, बिरालो लगायतका पशुको टोकाईबाट मानिस र अरु स्तनधारी प्राणीमा सर्ने प्राणघातक रोग हो ।रोगका जिवाणुहरु रोगी पशुको ¥यालमा रहने भएकाले त्यस्ता पशुले टोक्दा घाउसँगै मानिसको शरीरमा प्रवेश गरी रोग उत्पन्न गर्छन् । मानिसको शरीरमा रेविजको भाइरस प्रवेश गरेको ३० देखि ६० दिनमा रोग देखा पर्छ । तर कम्तीमा १० दिनमै वा वर्षौंपछि पनि देखा पर्न सक्ने सम्भावना हुने चिकित्सकले बताएका छन्।

रेविज प्राणघातक रोग भएकाले रोगबाट जोगिन खोप लिनै पर्ने तथा बौलाहा पशुले टोकेको शंका लागेमा तत्काल साबुन पानीले धुने जस्ता रोकथामका उपाय अपनाउनुपर्ने चिकित्सकको सुझाव छ । अध्ययन अनुसार नेपालमा रेविज फैलनुको मुख्य कारण जंगली स्यालको टोकाइ रहेको छ ।

प्रतिक्रिया