maiti ghar
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले माईतीघरमा आकाशे पुलको उद्घाटन गरेका छन्।
बुधबार मेयर शाक्यले माईतीघरस्थित आकाशेपुलको उद्घाटन गरेका हुन्। उनले आकाशे पुल निर्माण अभियान अन्तर्गत हरेक वर्ष महानगरले ८/९ करोड रूपैयाँ बजेट छुट्याएको र आवश्यक ठाउँ हेरेर पुल निर्माण पनि गरिरहेको बताए।
उनले आकाशे पुल निर्माण गर्दा सवारी साधनमा हुने अवरोध र दुर्घटनामा कमी भएको पनि बताए। मेयर शाक्यले महानगरसँग नीति, कार्यक्रम र बजेट प्रशस्त रहेको तर सडकका पेटी सानो भएको कारण केही ठाउँमा पुल निर्माण गर्न समस्या भइरहेको पनि स्मरण गराए।
invotech
‘आकाशे पुल निर्माण अभियन अन्तर्गत हरेक वर्ष हामीले ८-९ करोड बजेट विनियोजन गरेका छौं। त्यसलाई आवश्यक ठाउँ पहिचान गरेर आकाशे पुल निर्माण गर्ने काम भइरहेको छ’, उनले भने, ‘धेरै ठाउँमा नीति बनायौं तर कार्यान्वयनमा अलि समस्या पनि छ। बाटो अवरोध हुने भएकोले आवश्यक ठाउँमा बनाउने भनेर तयार गर्दा पनि बनाउन नसकेको स्थान पनि छन्। र जहाँ जहाँ सम्भव छ, त्यो ठाउँमा बनाउने नीति अनुसार यो ठाउँ पनि छनोट गर्यौं।’
उनले सर्वोच्च अदालतमा आउनेले सडक पार गर्न गाह्रो भयो भन्ने आवाज उठेकाले आकाशे पुलको निर्माण गरेको स्मरण गरे।
‘अहिले पनि धेरै ठाउँमा माग आइरहेका छन्, माग सब सम्बोधन गर्न नसकिरहेको अवस्था छ। नीति पनि छ, कार्यक्रम पनि छ र बजेट पनि छ तर सडकको पेटि साँघुरो भएको हुनाले कहाँ राख्ने भन्ने समस्या छ’, उनले भने, ‘यसले स्वास्थ्य मन्त्रालय, सिंहदरबार, सर्वोच्च अदालतमा जानेहरुलाई धेरै राहत दिने हामीले महशुस गरेका छौं। आवश्यक ठाउँमा वडा अध्यक्षले सिफारिस गरेअनुसार बनाउने नीति, कार्यक्रम र बजेट पनि हामीसँग छ।’
मेयर शाक्यले माईतीघरमा बनेको आकाशे पुलले स्वास्थ्य मन्त्रालय, सिंहदरबार र सर्वोच्च अदालतमा आवतजावत गर्ने तथा सडक पार गर्नेका लागि सहज बनाउने विश्वास पनि व्यक्त गरे।




