मकवानपुरमा श्रीमतीको कुटपिटपछि मृत्यु, श्रीमान् पक्राउ

पालिका डायरी
१२ मंसिर २०८३, २०:१४

हेटौँडा / मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ।

प्रहरीका अनुसार इन्द्रसरोवर गाउँपालिका–४ गोठभित्ता निवासी करिब ४०/४२ वर्षीय रमेश पाख्रिनले मंसिर ११ गते राति आफ्नै घरमा मादक पदार्थ सेवन गरी श्रीमती करिब ३५/४० वर्षीया रुकु पाख्रिनलाई कुटपिट गरेका थिए। कुटपिटबाट रुकु अचेत भएको भन्ने खबर प्राप्त भएपछि प्रहरी चौकी फाखेलबाट प्रहरी टोली घटनास्थल पुगेको थियो।

प्रहरी टोलीले घरभित्रको सुत्ने कोठामा रुकु पाख्रिन मृत अवस्थामा फेला पारेको जनाएको छ। घटनास्थल सुरक्षित राखी प्रहरीले उनका श्रीमान् रमेश पाख्रिनलाई नियन्त्रणमा लिएको थियो।

घटनाको थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय भीमफेदी, मकवानपुरबाट प्रहरी निरीक्षक सनम मल्लको कमान्डमा सोको (SOCO) सहितको टोली घटनास्थल पुगेको थियो।

कानुनी प्रक्रिया पूरा गरेपछि मृतकको शव पोस्टमार्टमका लागि पाटन अस्पताल पठाइएको प्रहरीले जनाएको छ। पक्राउ परेका रमेश पाख्रिनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याइँदै गरेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया