हेटौँडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु
हेटौँडा / मकवानपुरको हेटौँडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ।
बिहीबार दिउँसो करिब १२ः३५ बजे हेटौँडा उपमहानगरपालिका–१० स्थित जिल्ला प्रहरी कार्यालय मकवानपुर अगाडि मोटरसाइकलबाट खसेर सर्लाहीका २७ वर्षीय विदुर विश्वकर्माको मृत्यु भएको हो।
बसपार्कबाट थानाभर्याङतर्फ जाँदै गरेको ना ५४ प ८३२७ नम्बरको मोटरसाइकलमा पछाडि सवार विश्वकर्मा अचानक सडकमा खसेर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि हेटौँडा अस्पताल पुर्याइएको थियो।
अस्पतालमा ईसीजी परीक्षणपछि चिकित्सकले दिउँसो १२ः४० बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
मृतक विश्वकर्मा सर्लाहीको बरहथवा नगरपालिका–१५ पिपराभित्ता बेलटोलका बासिन्दा हुन्। मोटरसाइकल चालक उनका काका नाताका १६ वर्षीय आकृत विश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीले मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। मृतकको शव हेटौँडा अस्पतालमै रहेको प्रहरीले जनाएको छ।

