थाहामा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा चार जना घाइते
मकवानपुरको थाहा नगरपालिका–१० बिसुङ्खेलस्थित भित्री सडकखण्डमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा चार जना घाइते भएका छन्।
प्राप्त जानकारीअनुसार चित्लाङबाट बिसुङ्खेलतर्फ जाँदै गरेको बा.प्र.०२-०६४ प ३६५२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०२-०६५ प २६०३ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकलका चालक थाहा नगरपालिका–९ नारायणहिटीका करिब ४५ वर्षीय सुरेन्द्र मोहन बलामी घाइते भएका छन्। उनको दाहिने खुट्टा, हात र बायाँ आँखामा चोट लागेको छ।
त्यसैगरी, अर्को मोटरसाइकलका चालक थाहा नगरपालिका–७ निवासी १५ वर्षीय समिर गोले, उनकी १३ वर्षीया बहिनी शलिना गोले र पछाडि सवार काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१२ निवासी १७ वर्षीया सोनिका स्याङ्तान घाइते भएका छन्। उनीहरूको शरीरका विभिन्न भागमा चोट लागेको छ।
चारै जना घाइतेको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। उनीहरूलाई सुरुमा स्थानीय मेडिकलमा सामान्य उपचार गरिएपछि थप उपचारका लागि काठमाडौं पठाइएको थियो। हाल घाइतेहरूको नेशनल अस्पताल र टिचिङ अस्पताल काठमाडौंमा उपचार भइरहेको छ।
दुर्घटनामा संलग्न दुवै मोटरसाइकलमा क्षति पुगेको छ भने दुवै मोटरसाइकल इलाका प्रहरी कार्यालय चित्लाङको नियन्त्रणमा रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

