दुर्घटनामा राजनीति होइन, सडक सुधारमा जुटौँ : वडाध्यक्ष सिग्देल

पालिका डायरी
२९ कार्तिक २०८३, ०९:०९
वडा अध्यक्ष सिग्देलकाे एक बर्ष अगाडि बोलेका सबै काम पूरा भएको दावी

हेटौँडा /    चिसापानीगढीमा भएको दुर्घटनापछि राजनीतिक आरोप–प्रत्यारोप सुरु भइरहेका बेला हेटौँडा उपमहानगरपालिका–४ का वडाध्यक्ष नवीन सिग्देलले आरोप–प्रत्यारोपमा अल्झिनुभन्दा सडक सुरक्षा र सुधारका लागि एकजुट हुन आग्रह गरेका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै वडाध्यक्ष सिग्देलले मानवीय क्षतिलाई राजनीतिक स्वार्थको विषय नबनाउन र आगामी दिनमा यस्ता दुःखद दुर्घटना दोहोरिन नदिन सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताएका छन्।

उनले दुर्घटनापछि एकअर्कालाई दोषारोपण गरेर मात्रै समस्या समाधान नहुने स्पष्ट पार्दै सडकको स्तरीकरण, सवारीसाधन सञ्चालनको स्पष्ट मापदण्ड र प्रभावकारी सडक सुरक्षा व्यवस्थापनमा तत्काल ध्यान दिनुपर्नेमा जोड दिएका छन्।
सिग्देलले भाषण, विरोध र आरोप–प्रत्यारोपमा समय खर्चिनुभन्दा सडक सुधारका ठोस काम तत्काल सुरु गर्नुपर्ने धारणा राखेका छन्। उनका अनुसार सडक दुर्घटना न्यूनीकरणका लागि सम्बन्धित निकाय, राजनीतिक दल, जनप्रतिनिधि र सरोकारवाला सबै पक्षबीच सहकार्य आवश्यक छ। दुर्घटनापछि कसले के भन्यो र कसलाई दोष दिने भन्ने बहसभन्दा अब यस्ता घटना रोक्न के गर्ने भन्ने विषय प्राथमिकतामा पर्नुपर्ने उनको आग्रह छ।

मानवीय क्षतिपछि राजनीतिक लाभ खोज्ने होइन, नागरिकको ज्यान जोगाउने जिम्मेवारी पूरा गर्न सबै एक ठाउँमा उभिनुपर्ने सिग्देलको सन्देश छ। सडक सुरक्षित बनाउने प्रतिबद्धता भाषणमा होइन, व्यवहारमै देखिनुपर्ने उनको धारणाले अहिलेको बहसलाई कामतर्फ केन्द्रित गर्नुपर्ने आवश्यकता औँल्याएको छ।

प्रतिक्रिया