गाडीमा नअटाउँदा फर्किएका अवधेशले गुमाए श्रीमती, तीन छोरी र दुई भाइ

पालिका डायरी
२६ कार्तिक २०८३, १९:५४

छठ मनाउनका लागि काठमाडौंबाट सर्लाही जान अवधेश यादवको परिवारले बुधबार साँझ नै सबै तयारी गरिसकेको थियो। कपडादेखि घरमा छठ पूजाका लागि चाहिने सामान ‘प्याक’ गरेर राखिसकिएका थिए।

अवधेश पनि श्रीमती, छोराछोरी र दुई भाइसहित सर्लाहीको चन्द्रघट्टा गाउँपालिका-४, सुन्दरपुर जाने तयारीमा थिए। सबै तयारी पूरा भएपछि रातको खाना खाएर उनी पनि सुते।

राति १ बजे नै अवधेशको निद्रा खुल्यो। उनले श्रीमती पुनमलाई उठाए। राति डेढ बजे गाडी हिड्ने सल्लाह थियो।

पुनमले १० वर्षकी छोरी अनु, सात वर्षकी दीक्षा, पाँच वर्षकी दीपीका  र १४ महिनाका छोरा सुदीपलाई कपडा लगाए तयार पारिन्। अवधेश र पुनम दुवै जना पनि तयार भए।

अवधेशका दुई भाइ सुधेश र विकेश पनि तयार भएर निस्किए। राति नैसबै जना ललितपुरको टीकाथली चोकमा पुगे।

सुन्दरपुरको एउटै टोलका मिलेर गाडी रिजर्भ गरेका थिए। सबै सँगै घर फर्कने सल्लाह अनुसार अवधेशका परिवारबाट मात्रै आठ जना निस्किएका थिए।

१४ सिटे हाइसमा बालबालिकासहित २० जना चढे। सबै जना गाडीमा बसिसकेपछि अवधेश अटाएनन्। गाडीमा बस्ने ठाउँ नभएपछि उनी दोधारमा परे। भोलिपल्ट एक्लै आउने योजना बुनेर भाइहरू, श्रीमती र छोराछोरीलाई गाडी चढाएर कोठामा फर्किए।

कोठामा पुगेर केही बेर सुस्ताउन खोजे। राति नै भएकाले निदाएको पत्तै पाएनन्। बिहान ५ बजे आँखा खुल्दा त दुर्घटना भएको खबर पाए।

छठका लागि घर हिडेका उनका भाइ, छोराछोरी र श्रीमती गाउँ पुग्न पाएनन्। भीमफेदीमै बिलाए ।

‘गाडीमा म नअटाएपछि भोलितिर आउँछु, तिमीहरू जाँदै गर भनेर पठाएको थिएँ,’ बिहीबार साँझ हेटौंडा अस्पताल परिसरमा आइपुगेका अवधेशले भावविह्वल हुँदै भने, ‘यस्तो हुन्छ भन्ने थाहा थियो भने म पनि बरु त्यही गाडीमा जसरी पनि आउँथे।’

छठ मनाउन सर्लाही जाने अझै केही साथीहरू लतिलपुरमै थिए। ठेलामा फलफूल बिक्री गर्दै आएका उनलाई लाग्यो, एक दिन व्यापार गर्छु। अनि मात्र घर जान्छु।

‘घर जान्छु नै भनेर म पनि तयार भएर निस्किएको थिएँ,’ अवधेशले थपे, ‘बच्चाबच्चीले गर्दा अटिएन। अनि लाग्यो उनीहरू घर गएर तयारी गर्दैगर्छन्। म एकदिन भए पनि व्यापार गरेर शुक्रबार साँझतिर मात्रै घर जान्छु।’

तर, बिहान बिउझिने बेला दुःखद खबर पाएको उनले सुनाए। ‘राति कोठामा गएर सुतेँ। बिहान ५ बजे पो यस्तो भएको खबर थाहा पाएँ,’ उनले भने ।

अवधेशका अनुसार उनका २६ वर्षीय भाइ विकेश काठमाडौँमा बसेर सिभिल इन्जिनियरिङ पढिरहेका थिए। २४ वर्षीय सुवोध भने फलफूल व्यापार गर्दै आएका थिए।

छठ पर्व मनाउन घर फर्कने तयारीमा रहेका अवधेशले दुर्घटनामा श्रीमती पुनम, तीन छोरी अनु, दीक्षा र दीपीका तथा भाइहरू विकेश र सुवोधलाई गुमाएका छन्।

१४ महिनाका छोरा सुदीपलाई भने प्रहरीले घाइते अवस्थामा फेला पारेर उपचारका लागि हेटौंडा अस्पताल ल्याएको थियो। थप उपचारका लागि उनले बिहीबार दिउँसो काठमाडौँको मेडिसिटी हस्पिटल रिफर गरिएको छ। उनको उपचारका लागि अवधेशका आफन्त दिनेश यादव सघाइरहेका छन्।

एउटै यात्रामा घर फर्किएका उनका परिवारका ६ जना सदस्य अब कहिल्यै नफर्किने भएर गएका छन्। अवधेश भने आफू गाडीमा नअटाएको त्यो क्षण सम्झिँदै हेटौंडा अस्पताल परिसरमा आँसु झारिरहेका छन्।

ज्यान गुमाएका आफन्तको शव पर्खिरहेका उनलाई अब के गर्ने थाहा छैन। आफू बाँचेकोमा पनि उनी खुशी छैनन्। कतिबेला आफूलाई किन बाँचे हुला भन्ने प्रश्न गर्छन्।

हेटौंडा अस्पताल पुगेका अवधेशका आफन्त उनलाई सान्त्वना दिइरहेका छन्। तैपनि उनी सम्हालिन सकेका छैनन्।

उनका आफन्त चढेको मधेश प्रदेश ०३-००१ ज ०८८० नम्बरको हाइस बिहीबार बिहान मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानी गढीमा भीरबाट खसेको थियो। दुर्घटनामा १४ जनको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

प्रतिक्रिया