भीमफेदी गाडी दुर्घटनाका घाइते सबै एउटै वडाका बासिन्दा : सर्लाही प्रहरी

पालिका डायरी
२६ कार्तिक २०८३, १३:५६
भीमफेदी गाडी दुर्घटनाका घाइते सबै एउटै वडाका बासिन्दा : सर्लाही प्रहरी

मकवानपुरको भीमफेदीमा आज (बिहीबार) बिहान माइक्रो बस दुर्घटनामा परेका अधिकांश मानिस एउटै वडाका बासिन्दा रहेको सर्लाही जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

काठमाडौँबाट सर्लाहीका लागि जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको हाइस गाडी भीमफेदी–कुलेखानी–काठमाडौँ सडकअन्तर्गत बिहीबार बिहान करिब ५:४५ बजे भीमफेदी गाउँपालिका-६ चिसापानी गढीमा सडकबाट करिब ५०० मिटर तल भिरमा खसेको हो।

दुर्घटनामा चालकसहित १० जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। डीएसपी काफ्लेका अनुसार दुर्घटनामा ३३ वर्षीय मुकेश यादव, १६ महिनाका सुदीप यादव, २६ वर्षीय देवेन्द्र यादव, १२ वर्षीय सक्षम यादव, ८ वर्षीय सुदीप यादव र ‘बच्चु’ भन्ने देवेन्द्र राय छन्।

यसैबिच जिल्ला प्रहरी कार्यालय सर्लाहीले माइक्रो बसमा सवार सबै सर्लाहीको चक्रघट्टा गाउँपालिका-४ का बासिन्दा रहेको जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीले भनेको छ, ‘सबै मानिसहरू सर्लाही चक्रघट्टा गापा वडा नं. ०४ का बासिन्दा रहेका हुनाले यो घटनामा सम्बन्धमा केही कुरा बुझ्नु परेमा वा सूचना दिनु परेमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (मो. ९८५५०९०३१५) अथवा जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (मो. ९८५४०५६२२२)  मा सम्पर्क गर्न हुन हार्दिक अनुरोध गरिन्छ।’

यद्यपि सबै मृतकको सनाखत हुन बाँकी छ।

प्रतिक्रिया