भीमफेदी दुर्घटनाका १० मृतकमध्ये ९ जनाको पहिचान खुल्न बाँकी, घाइते ६ जनाकै पहिचान खुल्यो

पालिका डायरी
२६ कार्तिक २०८३, १३:२९

मकवानपुरको भीमफेदीमा आज (बिहीबार) बिहान माइक्रो बस दुर्घटना हुँदा मृत्यु भएका १० जनामध्ये अहिलेसम्म चालकको मात्र पहिचान खुलेको छ।

भीमफेदी–कुलेखानी–काठमाडौँ सडकअन्तर्गत बिहीबार बिहान करिब ५:४५ बजे भीमफेदी गाउँपालिका-६ चिसापानी गढीमा मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको हाइस गाडी सडकबाट करिब ५०० मिटर तल भिरमा खसेको हो।

काठमाडौँबाट सर्लाहीका लागि आउँदै गरेको उक्त गाडी दुर्घटनामा चालकसहित १० जनाको मृत्यु भएको हो। चालक सर्लाहीको कविलास गाउँपालिकाका रवि शंकर कुमार मण्डल रहेको मकवानपुरका डीएसपी माधव काफ्लेले जानकारी दिए।

बाँकी ९ मृतकको भने सनाखत हुन बाँकी छ।

यसैबिच दुर्घटनामा घाइते भएका ६ जनाको भने सबै परिचय खुलेको छ। उनीहरूको उपचार हेटौँडा अस्पतालमा भइरहेको छ। उपचाररत घाइतेमा ३३ वर्षीय मुकेश यादव, १६ महिनाका सुदीप यादव, २६ वर्षीय देवेन्द्र यादव, १२ वर्षीय सक्षम यादव, ८ वर्षीय सुदीप यादव र ‘बच्चु’ भन्ने देवेन्द्र राय छन्।

मृतकमध्ये चार जनाको शव हेटौँडा अस्पतालमा ल्याइएको छ भने बाँकीको ल्याउने क्रम जारी छ।

प्रतिक्रिया